Techie IT
२०८३ असार १६, मंगलबार

गृहमन्त्री गुरुङका प्रशंसकद्वारा अभिनेत्री रजकलाई मध्यरातमा फोन गरेर हैरान, सार्वजनिक भयो च्याट!


नेपाली चलचित्रकी चर्चित अभिनेत्री उषा रजकले सामाजिक सञ्जालमा मध्यरातमा लगातार फोन गरेर आफूलाई मानसिक तनाव दिएको भन्दै एक पुरुषको च्याटको स्क्रिनसट सार्वजनिक गरेकी छन्। उनले ‘सन्जोक कार्की’ नामका डिजिटल क्रिएटरमाथि फेसबुक म्यासेन्जरमार्फत मध्यरातमा पटक-पटक फोन गरेर दुर्व्यवहार (ह्यारेस) गरेको गम्भीर आरोप लगाएकी हुन्।

उषाले आफ्नो आधिकारिक फेसबुक पेजमा सार्वजनिक गरेको च्याटको स्क्रिनसट अनुसार, सन्जोक कार्कीले सुरुमा उनको स्टोरीमा ‘सो लभ्ली’ भनी प्रतिक्रिया दिएका थिए। त्यसपछि सोही रातको ३:१९, ४:०४ र ४:२३ बजे लगातार तीन पटक म्यासेन्जरमा अडियो कल गरेको देखिन्छ।

ती व्यक्ति वर्तमान गृहमन्त्री सुधन गुरुङको प्रशंसक समेत रहेको उल्लेख गर्दै उषाले एउटी महिलालाई मध्यरातमा यसरी लगातार फोन गर्नुको कारणबारे प्रश्न उठाएकी छन्। यस्ता साना भनिने दुर्व्यवहारलाई बेवास्ता गर्दा भोलि ठूला अपराध निम्तिने भन्दै यसविरुद्ध आवाज उठाउनु आफ्नो सामाजिक दायित्व भएको उनको जिकिर छ।

उषा रजकले आफ्नो पोस्टमा हालै विवादमा परेका गायक सुजन चापागाईंको प्रष्टीकरणलाई लिएर पनि कडा कटाक्ष गरेकी छन्। केही दिनअघि गायक चापागाईंको एक निजी च्याट सार्वजनिक भएपछि उनले अस्ट्रेलिया टुरमा रहेको र आफ्नो सामाजिक सञ्जाल म्यानेजरहरूले हेर्ने गरेको भन्दै बचाउ गरेका थिए।

सोही विषयलाई उल्लेख गर्दै उषाले लेखेकी छन्- ‘फेरि वहाँले ए, फोन मेरो म्यानेजरले चलाएको थियो, बच्चाले खेलिरहेको थियो भन्नुहोला।’

विगतमा आफ्नै रंगमञ्चका गुरुविरुद्ध ‘मी टू’ को आवाज उठाउँदा आफूमाथि लागेका आरोपहरूको स्मरण गर्दै उषाले हिंसाविरुद्ध बोल्ने महिलाहरूको खुट्टा नतान्न आग्रह गरेकी छन्। उनले दुर्व्यवहारमा परेका अन्य पीडितहरूलाई पनि नेपाल प्रहरीको साइबर ब्युरोमा सम्पर्क गर्न सुझाव दिँदै हेल्पलाइन नम्बर समेत साझा गरेकी छन्।

आफूलाई मध्यरातमा फोन गरेर दुर्व्यवहार गर्ने सन्जोक कार्कीलाई कडा चेतावनी दिँदै उषाले लेखेकी छन्- ‘सिचुएसन फिक्स गर्नुस्। यदि फेरि मलाई राति फोन गर्न चाहनुहुन्छ भने हाम्रो डेट प्रहरी चौकीमा हुनेछ।’



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट