सजाय मिनाहा पाएर छुटेका सिरियल किलरलद्वारा दोस्रो श्रीमतीको पनि हत्या
शवलाई छिमेकीको बलेसीतिर फालेर घरमा गइ निर्धक्कसँग सुते
गुल्मी । १४ वर्षअघि पहिलो श्रीमतीको हत्या गरेकै बीभत्स शैलीमा गुल्मीका एक व्यक्तिले आफ्नी दोस्रो श्रीमतीको पनि निर्ममतापूर्वक हत्या गरेको सनसनीखेज तथ्य खुलेको छ।
गुल्मीको तत्कालीन इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय गोपाल कुमालले आफ्नी दोस्रो श्रीमती ३७ वर्षीया मुना कुमालको चिर्पट प्रहार गरी हत्या गरेका हुन्। पहिलो श्रीमतीको हत्या अभियोगमा जेल परी सजाय मिनाहा पाएर छुटेका गोपालले पुनः सोही प्रकृतिको अपराध दोहोर्याएका हुन्।
२०६९ मंसिर १ गते साँझ सामान्य घरायसी विवादका क्रममा गोपालले २६ वर्षीया पहिलो श्रीमती कमला कुमालमाथि चिर्पट र लात्ती–मुक्काले निर्घात कुटपिट गरेका थिए। टाउकोमा चिर्पट प्रहार भएपछि अचेत भएकी कमलाको मृत्यु भएपछि गोपालले जोगिनका लागि 'श्रीमती झुन्डिएर मरेको' काल्पनिक कथा रचेर गाउँभर हल्ला फैलाए।
छिमेकी पुग्दा कमला भुइँमा लम्पसार परेकी थिइन्। शंका लागेपछि प्रहरीले गोपाललाई नियन्त्रणमा लियो। बयानका क्रममा उनले चिर्पट प्रहार गरी हत्या गरेको स्वीकारे। उक्त मुद्दामा जिल्ला अदालत गुल्मीले २०६९ चैत ६ गते उनलाई १० वर्ष कैद सजाय सुनायो, जसलाई तत्कालीन पुनरावेदन अदालतले पनि सदर गर्यो।
नियमअनुसार २०७९ साल चैतसम्म जेल बस्नुपर्ने गोपालले 'असल चालचलन' को कैद मिनाहाको कानुनी छिद्र प्रयोग गर्दै आधा सजाय मात्र भुक्तान गरेर २०७४ जेठ १४ गते गणतन्त्र दिवसका अवसरमा उन्मुक्ति पाए।
जेलबाट छुटेपछि गोपालले करिब पाँच वर्षअघि मुनासँग दोस्रो विवाह गरे। यसैबीच, उनले आफ्नो आपराधिक अतीत लुकाउन नाम परिवर्तन गरी आफूलाई ‘यमबहादुर’ का रूपमा चिनाउन थाले। गाउँलेले उनको विगत थाहा पाएर पनि समाजमा स्वीकार गरेका थिए। तर, नाम बदल्दैमा उनको हिंस्रक प्रवृत्ति बदलिएको थिएन।
गत असार ९ गते राति ९:३० बजे मदिराको नशामा लठ्ठिएका गोपालले फेरि सामान्य विवादकै क्रममा मुनामाथि पुरानै हिंस्रक व्यवहार दोहोर्याए।
इस्मा गाउँपालिका–५ का वडाध्यक्ष झविन्द्र अर्यालका अनुसार गोपालले असार ९ गते दिउँसोदेखि नै मुनालाई कुटपिट र लखेटपछार गरिरहेका थिए। छुट्ट्याउन गएका छिमेकी धनबहादुर कुमालमाथि समेत कुटपिट भएपछि धनबहादुरले प्रहरी चौकीमा निवेदन दिएका थिए। दिउँसो प्रहरी गोपालको घर पुगे पनि उनी मदिराको नशामा लठ्ठिएकाले 'भोलि छलफल गर्ने' भन्दै प्रहरी फर्कियो। प्रहरीको यही फितलो उपस्थितिको फाइदा उठाउँदै गोपालले सोही राति मुनाको टाउकोमा चिर्पट प्रहार गरी क्रूरतापूर्वक हत्या गरे। हत्यापछि उनले शवलाई छिमेकीको बलेसीतिर फालेर घरमा गइ निर्धक्कसँग सुते।
असार १० गते बिहान अचेत अवस्थामा मुना भेटिएपछि मात्रै प्रहरी पुनः घटनास्थल पुग्यो। जिल्ला प्रहरी प्रमुख एसपी भीमकिरण बोगटीको निर्देशनमा मुनालाई उद्धार गरी जिल्ला अस्पताल तम्घास पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरे।
श्रीमतीको हत्या गरेर पनि घरमै बसिरहेका गोपालले पक्राउ परेपछि प्रहरीसमक्ष आफूलाई ‘यमबहादुर’ भनेर ढाँट्ने र पहिलो श्रीमतीकै घटना जस्तै 'झुन्डिएर मरेको' भन्दै भ्रममा पार्ने प्रयास गरे। तर, प्रहरी अभिलेख भिडाउँदा उनी यमबहादुर नभई १४ वर्षअघि श्रीमती हत्या गर्ने गोपाल कुमाल नै भएको प्रमाणित भयो।
गोपालको यो क्रूरताले दुई परिवार तहसनहस भएका छन्। मृतक मुनाबाट उनका दुई वर्षका एक नाबालक छोरा छन् भने पहिलो श्रीमती कमलातर्फका एक छोरा भारतमा रोजगार छन्। दुःखजिलो गरी छिमेकीको घरमा काम गर्दै हालै कक्षा १२ उत्तीर्ण गरेकी गोपालकी छोरी नेपाली सेनामा भर्ना हुने तयारीमा थिइन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी बोगटीका अनुसार गोपालको यो प्रवृत्ति 'सिरियल किलर' सँग मिल्दोजुल्दो देखिएको छ। हाल उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा कडा कानुनी कारबाहीका लागि प्रहरीले अनुसन्धानको मिसिल तयार पारिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस