सर्लाहीका युवकद्वारा आत्मदाहको प्रयास, कीर्तिपुर बर्न अस्पतालमा उपचार हुँदै
मुगुका युवा गणेश नेपालीले संघीय राजधानी काठमाडौँमा आत्मदाह गरेको घटनाको सिर्को सेलाउन नपाउँदै सर्लाहीमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्लाहीको गोडैता नगरपालिका–१० निवासी विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्महत्याको प्रयास गरेका हुन् ।
गम्भीर घाइते भएका मण्डललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गर्ने तयारी भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र पौडेलले जानकारी दिए ।
प्रहरीका अनुसार मण्डलले घरभन्दा करिब २०० मिटर टाढा पुगेर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए । उनको उमेर कतै २५ त कतै ३५ वर्ष उल्लेख गरिएको छ । घटनाको कारणबारे प्रहरीको प्रारम्भिक अनुसन्धान र पारिवारिक स्रोतका भनाइहरू फरक–फरक आएका छन् । आफन्तहरूले मण्डलमा केही समयदेखि मानसिक समस्या रहेको बताएका छन् भने प्रहरीको प्रारम्भिक अनुसन्धानले घरपरिवारसँगको विवादपछि उनले यस्तो कठोर कदम चालेको हुनसक्ने देखाएको छ ।
सांसद अमरेशकुमार सिंहको पहलमा उद्धार
सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाबारे जानकारी दिँदै घाइतेको उद्धारका लागि तत्कालै पहल थालिएको जनाएका छन् ।
सांसद सिंहका अनुसार मण्डलको अवस्था नाजुक रहेकाले उनले तत्कालै प्रधानमन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सम्पर्क गरी वस्तुस्थितिबारे अवगत गराएका थिए । सिंहले घाइते मण्डलको अवस्था अत्यन्तै चिन्ताजनक रहेकाले सरकारीस्तरबाटै निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाइदिन समेत विशेष अनुरोध गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस