Techie IT
२०८३ असार २६, शुक्रबार

राहदानी बनाउन गृहजिल्ला धाउनुपर्ने बाध्यता हट्यो, असार २९ देखि जुनसुकै जिल्लाबाट आवेदन दिन मिल्ने


परराष्ट्र मन्त्रालयले आगामी असार २९ गतेदेखि नयाँ प्रविधि र प्रणालीमार्फत राहदानी (पासपोर्ट) सेवा वितरण गर्ने भएको छ । सर्वसाधारणलाई सहज, सरल र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यसहित मन्त्रालय र राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनको अन्तिम तयारी पूरा गरेका हुन् ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रणाली परिवर्तनको सुरुवाती समयमा केही सामान्य प्राविधिक समस्या आउन सक्ने भए तापनि सेवालाई नियमित र सुचारु राखिने जानकारी दिएका छन् ।

राहदानी सेवालाई झन्झटमुक्त र थप प्रभावकारी बनाउन सरकारले मुख्यतया तीनवटा महत्त्वपूर्ण कदम चालेको छ:

हुलाकमार्फत द्रुत वितरण: विभागमा छापिएका राहदानीहरू छिटोभन्दा छिटो सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमा पुर्‍याउन हुलाक विभागसँग औपचारिक सम्झौता भइसकेको छ ।

जुनसुकै स्थानबाट आवेदन दिन मिल्ने: सेवाग्राहीले अब आफ्नो गृहजिल्ला नै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ । जो जहाँ भए पनि आफ्नो पायक पर्ने वा नजिकको जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्ने गरी प्रक्रिया सुरु गरिएको छ ।

पूर्ण प्रविधिमैत्री सेवा: राहदानी वितरण प्रक्रियालाई समयसापेक्ष, भरपर्दो र जनमैत्री बनाउन मन्त्रालय र राहदानी विभागले पूर्ण प्रतिबद्धता जनाएका छन् ।

यो नयाँ व्यवस्था पूर्ण रूपमा लागू भएपछि नागरिकले राहदानी बनाउनकै लागि दुःख पाइरहनुपर्ने र राजधानी वा गृहजिल्ला धाइरहनुपर्ने झन्झट अन्त्य हुने सरकारको विश्वास छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट