रूपन्देहीमा प्रहरीको 'इन्काउन्टर': हतियारसहित आएका लागुऔषध कारोबारीमाथि गोली प्रहार
रूपन्देहीको मायादेवी गाउँपालिकामा हतियारसहित आएका लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरो र रूपन्देही प्रहरीको संयुक्त टोलीले आत्मरक्षाका लागि गोली प्रहार गरी एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो ।
प्रहरीको गोली लागेर एक जना भारतीय नागरिक घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको र अस्पतालमा उपचार गराई डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
रूपन्देही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार, भारतीय मोटरसाइकलमा हतियारसहित आएका उनीहरूलाई शङ्का लागेर चेकजाँच गर्न खोजिएको थियो । पूर्व सूचनाका आधारमा खटिएको प्रहरी टोलीले रोक्न खोज्दा र पटक-पटक चेतावनी दिँदा पनि उनीहरूले उल्टै हतियार निकालेपछि प्रहरीले एक राउण्ड गोली प्रहार गरेको हो ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट १ थान पेस्तोल, दुई राउण्ड गोली, प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र भारतीय मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेका तीनै जना व्यावसायिक लागुऔषध कारोबारी भएको र उनीहरूमाथि थप कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस