ग्वार्कोमा ‘चोर’ भन्दै निर्घात कुटपिट गरी हत्या, फरार दुई अभियुक्त पक्राउ
ललितपुरको ग्वार्कोमा एक जनालाई ‘चोरी गर्न आएको’ भन्दै निर्घात कुटपिट गरी हत्या गरेर फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट खटिएको संयुक्त विशेष टोलीले उनीहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ घर भई हाल ग्वार्को बस्ने २६ वर्षीय गणेश मगर र ललितपुरको गोदावरी नगरपालिका–१० चापागाउँ बस्ने २६ वर्षीय मनोज दहाल रहेका छन्।
प्रहरीका अनुसार गत असार २४ गते राति ८ बजे ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित एउटा सवारी साधन मर्मत गर्ने ग्यारेजमा चोरी गर्न आएको भन्दै ललितपुर महालक्ष्मी नगरपालिका–४ का अशोक कार्की भनिने अशोक सुवेदीमाथि निर्घात कुटपिट भएको थियो।
कुटपिटबाट गम्भीर घाइते भई अचेत भएका सुवेदीलाई तत्काल उपचारका लागि ग्वार्कोस्थित किष्ट अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएपछि प्रहरीले यसलाई कर्तव्य ज्यान मुद्दाका रूपमा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो।
फरार रहेका मगर र दाहाललाई प्रहरीले प्राविधिक र स्थलगत अनुसन्धानका आधारमा नियन्त्रणमा लिन सफल भएको हो। पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखिएको छ। उनीहरूमाथि जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धानका लागि ५ दिनको म्याद अनुमति लिई घटनाको मुख्य कारण र अन्य संलग्नताबारे विस्तृत सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस