पोखरामा खाजाघरको आवरणमा बालिकालाई यौन शोषण
पोखरा महानगरपालिका–१८, चिसाखोला क्षेत्रमा सञ्चालित खाजाघरहरूमा बालिकालाई प्रलोभनमा पारी अनैतिक कार्यमा लगाउने चार महिलालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार पक्राउ पर्नेमा पोखरा–१८ बस्ने ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङ रहेका छन्।
आर्थिक अवस्था कमजोर भएका बालिकाहरूलाई विभिन्न प्रलोभन देखाई अनैतिक क्रियाकलापमा संलग्न गराउने गरेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी कारबाहीका क्रममा उक्त स्थानबाट एक बालिकाको सकुशल उद्धार गरिएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध 'मानव बेचबिखन तथा ओसारपसार' सम्बन्धी मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार, अदालतबाट शुक्रबार सात दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस