Techie IT
२०८३ भाद्र २०, शनिबार

कम्युनिष्ट पार्टीमा संगठनात्मक प्रणाली र अनुशासनको महत्व


कम्युनिष्टको अर्थ “महत्वपुर्ण राजनीतिक शब्द ज्ञानमा” यस प्रकार परिभाषित गरिएको छ ।  “समाजमा हुने गरेको शोषण अन्याय, अत्याचार, थिचोमिचो, भेदभाव तथा विभिन्न खालका विकृति विसंगतिका विरुद्ध आवाज उठाई रहने, सामाजिक विभेदका विरुद्ध संघर्ष गर्ने, माक्र्सवादी, लेलिनवादी सिद्धान्त एंव वैज्ञानिक विचारधारामा दृढ एंव सर्वहारावर्गको पार्टीको सामुहिक अनुशासनमा रहेर हमेशा रुपान्तरणका पक्षमा रहने क्रान्तिकारीलाई कम्युनिष्ट भनिन्छ ।

कम्युनिज्म शब्द ल्याटिन भाषा बाट आएको हो । जसको अर्थ “साझा” हुन्छ । कम्युनिज्म “साम्यवाद”लाई हामीले यसरी परिभाषित गर्न सक्छौ । कम्युनिज्म समाजको त्यो अवस्था र व्यवस्था हो । जस्मा उत्पादनका सबै साधन र श्रोतहरु जस्तै कलकारखाना, जमिन, खानी जल, जंगल लगायत उत्पादनका सबै साधनहरु जनताको साझा सम्पत्ति हुन्छ । 

लेनिनका शब्दमा “कम्युनिष्ट समाज भनेको त्यस्तो समाज हो जहाँ जमिन, कलकारखाना आदि कुराहरुमा साझा मालिकत्व रहन्छ र मानिसहरु साझा रुपमा काम गर्दछन” । राज्य भित्र रहेका साधन श्रोतहरु व्यक्तिको मातहतमा नभएर राज्यको मातहत रहन्छ र त्यस्को प्रत्यक्ष मालिक जनता हुन्छ त्यो व्यवस्था ल्याउनका लागी कम्युनिष्ट पार्टी गठन भएको हो ।

कम्युनिष्टहरु पुरानो रुढीवादी परम्परा एंव संस्कारलाई परिर्वतन गरि नयाँ सभ्य समाजको निर्माणकालागि निरन्तर लागिरहेका हुन्छन” कम्युनिष्टहरु प्रगतिशिल, देशभक्त तथा अनुशासित हुन्छन” । माथि उल्लेखित परिभाषा अनुसार कम्युनिष्टहरुको एकप्रकारको चित्र स्पष्ट देखिन्छ । जो व्यक्ती समाजको रुपान्तरणका लागी हमेशा तयार हुन्छ, जो व्यक्ती देश र जनताको विकास र समृद्धिका खातिर हमेशा संघर्षका लागी तयार रहन्छ । जो व्यक्ती समाजमा हुने गरेको वा भईरहेको शोषण अन्याय, अत्याचार, थिचोमिचो, भेदभाव तथा विभिन्न खालका विकृति विसंगतिका विरुद्ध आवाज उठाई रहन्छ त्यो कम्युनिष्ट हो भने त्यस प्रकारका व्यक्तीहरुको सामुहिक विचार, सिद्धान्त र कार्यक्रमका माध्यम बाट दिर्घकालिन समाधानको खोजी गर्न संगठितरुपमा लक्ष्य प्राप्त गर्न माक्र्सवादी, लेलिनवादी सिद्धान्त एंव वैज्ञानिक विचारधाराका आधारमा बनेको संगठन कम्युनिष्ट पार्टी हो । 

“कम्युनिष्ट पार्टीको संगठनलाई परिस्थिति र त्यसका कामको उद्देश्य अनुकुल ढाल्नु पर्दछ । क्रान्तिकारी वर्गसंर्घषका सबै अभिभारा एंव समाजवादको स्थापना अर्थात साम्यवादी समाजको पहिलो खुडकिलो टेक्दै त्यसपछिको संक्रमणकालमा कम्युनिष्ट पार्टीले अगुवा दस्ताका रुपमा अग्रिम पहरेदारको भुमिका निर्वाह गर्नु पर्दछ । 

कम्युनिष्ट पार्टी तथा क्रान्तिकारी सर्वहारा वर्गले अझै पनि पुँजीपतिवर्गका विरुद्ध लडनु पर्ने अवस्था हो । यस सन्र्दभमा पुँजिपति वर्गलाई हराउनु र उसको हातबाट सत्ता छिन्नु नै कम्युनिष्ट आन्दोलनको निर्णायक र निर्देशक लक्ष्य हो” । (Lenin An outline of Marxism पृष्ठ १४१) ।

संगठनात्मक प्रणाली
कम्युनिष्ट पार्टीको उद्देश्य र लक्ष्य सामान्य न भएर अति महत्वपुर्ण तर जटिल रहेकाले सामान्य वुर्जुवा पार्टी भन्दा भिन्न एंव सचेत तथा जुझारु हुनु पर्ने आवश्यकता छ । दिर्घकालिन रणनीति जो वैज्ञानिक साम्यवाद हो जसलाई प्राप्त गर्न तात्कालिन कार्यनीतिको उपयोग वर्तमान परिस्थितिको आधारमा निर्माण गरेर कार्यक्रम कार्यान्वयन गर्नु पर्ने हुनाले कम्युनिष्ट पार्टी र त्यसका सम्पुर्ण पार्टी सदस्यहरु ज्यादै अनुशासित एंव जुझारु हुनु पर्दछ । त्यसकालागी माक्र्सवादी लेनिनवादी संगठनात्मक सिद्धान्तको कार्यान्वन अनिवार्य हुन जान्छ ।  

“कम्युनिष्ट पार्टीको संगठनमा जनवादी केन्द्रियताको अर्थ सर्वहारा जनवाद र केन्द्रियताका बिचको वास्तविक तालमेल हो” । अर्थात् यी दुबै एकअर्काका साथमा मिलेको हुनु पर्दछ भन्ने नै यसको आशय हो । कम्युनिष्ट पार्टीको संगठनमा केन्द्रिकरणको अर्थ परम्परागत र यान्त्रिक केन्द्रिकरण होईन, यो त कम्युनिष्ट काम कारवाहिको केन्द्रिकरण हो । अर्थात एक त्यस्तो किसिमको नेतृत्वको निर्माण गर्नु हो, जुन नेतृत्व युद्धकालागि पनि तयार रहन्छ र जस्तो सुकै परिस्थितिमा पनि आफुलाई तदअनुरुप परिवर्तन गर्दै त्यसको सामना गर्ने क्षमता राख्दछ । (लेनिन An outline of Marxism, पृष्ट..१४३)

लेनिनले संगठनात्मक सिद्धान्तका सन्दर्भमा सहि सिद्धान्त, सहि राजनीतिक लाईन पछि संगठनात्मक नीति सहि हुनु पर्ने आवश्यकतामा विशेष जोड दिनु भएको छ । लेनिनले यस शिलशिलामा संगठनात्मक प्रस्ताबमा लेख्नु भएको छ कि “कम्युनिष्ट पार्टीमा सहि सिद्धान्त, सहि राजनीतिक लाईनको निर्धारण पछि सहि संगठनात्मक नीतिले निर्णयात्मक महत्व राख्दछ” । 

कुनै कम्युनिष्ट पार्टीको सहि सिद्धान्त, सहि राजनीतिक लाईन भएपनि संगठनात्मक अनुशासन र संगठनात्मक प्रणाली सहि भएन भने पार्टी संगठन बलियो वा शक्तिशाली हुन सक्दैन । 

यदि पार्टीमा अनुशासन र संगठनात्मक प्रणाली सहि भएन भने त्यो पार्टीले आफ्नो राजनीतिक कार्यक्रम र सिद्धान्त समाजमा कार्यान्वयन गर्न सक्दैन । त्यसैले पार्टी संगठन बलियो वा शक्तिशाली बनाउनका लागी पार्टीमा अनुशासन र संगठनात्मक प्रणाली सहि र व्यवस्थित हुन जरुरी हुन्छ ।

कम्युनिष्ट पार्टी खासमा उत्पीडित, शोषित र मेहन्तकश जनताको पार्टी भएपनि कम्युनिष्ट पार्टीका सदस्यहरु आम जनता अग्रगामी बढी अनुशासित, सचेत र जुझारु हुनु पर्दछ र हुन्छन । त्यसप्रकारका सदस्यहरुले मात्र लेनिनवादी संगठनात्मक प्रणाली वा सिद्धान्तलाई कार्यान्वयन गर्न सक्दछन । लेनिनवादी संगठनात्मक सिद्धान्त जनवादी केन्द्रियता, कम्युनिष्ट पार्टीको आधारभुत संगठनात्मक सिद्धान्त हो ।  

जनवादी केन्द्रियताले पार्टीलाई व्यवस्थित, अनुशासित र एकताबद्ध बनाउँछ । भने त्यसतै जनवादी केन्द्रियता पछि दोस्रो महत्वपुर्ण संगठनात्मक सिद्धान्त छलफलमा स्वतन्त्रता तथा काममा एकता हो । यी दुईटै सिद्धान्तहरु पार्टी सिद्धान्तका आधारभुत सिद्धान्तहरु हुन ।  यस प्रकारको सिद्धान्तलाई कार्यान्वन गर्ने अग्रगामी, सचेत र अनुशासित सदस्यहरु बाट निर्देशित पार्टी नै क्रान्तिकारी पार्टी बन्न सक्दछ ।

लेनिनले प्रतिपादन गरेको संगठनात्मक सिद्धान्तहरु, जनवादी केन्द्रियता र छलफलमा स्वतन्त्रता तथा काममा एकताको नीतिलाई सामान्य मानिसले पालना गर्न कठिन हुन्छ । किनकी हरेक मानिस आफ्नो ईच्छा र चाहना बमोजिम स्वतन्त्र प्रकारले काम गर्न चाहन्छन र आफुलाई मन पर्ने कामलाई सजिलो मान्ने गर्दछन । तर आफ्नो ईच्छा विपरित काम गर्ने कुरा जटिल र असहज हुने गर्छ त्यसका बावजुत आफ्नो असहमति भएपनि महाधिवेशन, केन्द्रिय समिति, उच्च समिति वा बहुमतको निर्णय स्विकार गर्नु र ईमान्दारिताका साथ काम पुरा गर्नु पर्ने हुन्छ ।

जनवादी केन्द्रियताको अर्थ हुन्छ तल बाट जनवाद र माथि बाट केन्द्रियता । सबै पार्टी समितिहरु तल बाट चुनिदै जान्छन र तलबाट चुनिएका प्रतिनीधिहरुको भेला, सम्मेलन वा महाधिवेशन बाट पार्टीका नीति निर्धारण हून्छन । त्यो वास्तवमा जनवाद हो । तर एक पटक जनवादी तरिका बाट नीति निर्धारित भएपछि वा समिति निर्वाचित भएपछि केन्द्रियता लागु हुन्छ । 

महाधिवेशन बाट पारित नीति र विधान सबै पार्टी समितिले मान्नु पर्दछ ।  जनवाद भनेको आफ्नो ईच्छा बमोजिम काम गर्नु हुन्छ भने केन्द्रियताको अर्थ पार्टीको कुनै काममा आफ्नो सहमति नभएपनि महाधिवेशन, केन्द्रिय समिति, बहुमतको निर्णय वा निर्देशनलाई मानेर काम पुरा गर्नु प्रत्येक क्रान्तिकारी कम्युनिष्ट कार्यकर्ताको परम कर्तव्य हुन्छ र हुनु पर्दछ ।

माक्र्सवादी, लेनिनवादी संगठनात्मक प्रणालीमा छलफलको स्वतन्त्रता तथा काममा एकताकाको सिद्धान्त अन्तरगत कम्युनिष्ट पार्टीमा छलफलको स्वतन्त्रतामा पार्टी सदस्यको ईच्छा अनुसार आफनो मत प्रकट गर्न पाउँछन तर कामको एकता भनेको कुनै निर्णयमा आफ्नो सहमति नभएपनि बहुमतको निर्णयमा एकता कायम गर्नु पर्ने हुन्छ । 

सामान्यतया मानिसहरु आफ्नो ईच्छाका विपरित काम गर्ने कुरालाई असहज रुपमा लिने गर्दछन र आफ्नो ईच्छा विपरित केन्द्रियता वा कामको एकताको प्रणाली लाई कार्यान्वयन गर्न अप्ठ्यारो हुन्छ । तिनिहरुको पालना नगर्दा पार्टीमा प्रायशः अनुशासन विहिनताको स्थिति हुन्छ ।

माक्र्सवादी, लेनिनवादी संगठनात्मक प्रणालीले पार्टी भित्र देखा पर्ने साना वा ठुला मतभेदहरुलाई पनि संन्तुलनमा राख्नु पर्ने कुरामा जोड दिन्छ । पार्टीको नीति वा विधानले पार्टी सदस्यहरु वा तल्ला कमिटिहरुलाई माथिल्लो कमिटि वा नेतृत्वको आलोचना गर्ने वा मतभेद राख्ने अधिकार दिएको हुन्छ । 

पार्टीको नीति र विधान अन्तरगत रहेर मात्र गर्न पाईन्छ । तर, त्यस प्रकारको आलोचना वा मतभेद मनोमानि वा स्वेच्छाचारी तरिकाले प्रकट गर्न पाईदैन । त्यसको अर्थ यो हो कि सबै पार्टी सदस्यहरुलाई आफुले प्राप्त गरेको जिम्मेवारी वा काम गरिरहेको समितिमा मात्र त्यस प्रकारका मतभेद वा आलोचना राख्न पाउने अधिकार हुन्छ । 

तर तल्ला समिति वा पार्टी संगठन भन्दा बाहिर पार्टीका आन्तरिक मतभेदहरु वा आलोचना राख्न मिल्दैन । तर हाम्रो पार्टीमा पछिल्लो चरणमा यस प्रकारका कयौ मतभेद वा आलोचनाहरु असम्बन्धित व्यक्ति वा सदस्यहरु सम्म पनि जाने गरेको देखिन्छ । यसप्रकारका गतिविधिहरुले नजानिदो प्रकारले गुटहरुको समेत निर्माण हुने गर्दछ । त्यसले पार्टी संगठनलाई कमजोर मात्र बनाउदैन पार्टी अनुशासन विहिन हुनुका साथै पार्टीले समाल्न नसकिने गरि अराजकता पनि बढदै जान्छ । 

त्यो बाहेक आफ्नो संगठन, पार्टी सदस्य वा नेतृत्वको विषयमा लुजटक, ब्याकबाईटिङ्घ गर्ने, पिठ्यु पछाडि असम्बन्धित स्थानमा असम्बन्धित कुरा गर्ने कार्यहरु पनि पार्टीको अनुशासन, नियम र विधानका विरुद्धको कुरा हो । आजकल पार्टी भित्र यसप्रकारका अनुशासन विहिन कामहरु बढी हुने गरेको पाईन्छ ।

त्यसैले पार्टी नेतृत्वले समयमै यसप्रकारका कार्य गर्ने जो कोहिलाई अनुशासन भित्र राख्न पहल कदमि लिनु पर्दछ । पार्टीमा अनुशासनको पालना भएको छ वा छैन ? त्यस बारे उदारवादी नीति नअपनाएर लगातार र कडाईपुर्वक अनुगमन निरिक्षण गर्दै अनुशासनलाई कायम राख्ने प्रयास गर्नु पर्दछ । यदि समयमै यस प्रकारका कार्यमा वा गतिविधिमा नियन्त्रण गरिएन वा उदारवादी वा उपेक्षाको नीतिबाट पार्टीको क्रान्तिकारी चरित्र, पार्टी अनुशासन र एकतामा गम्भिर प्रकारको क्षति हुने सम्भावना रहन्छ ।

पार्टी अनुशासन र कर्तव्य
१. कम्युनिष्ट पार्टीका सदस्यहरुले कम्युनिष्ट अनुशासनको पालना गर्नु, सोहि अनुसारको आचरण र व्यवहार प्रकट गर्नु पर्दछ । लेनिनले भन्नु भएको छ कि “कम्युनिष्ट पार्टी सर्वहारावर्गको पार्टी हो र त्यसको उद्देश्य सबै शोषित, पीडित र मिहेनतकश जनताको सेवा गर्नु हो” । 

तर सामान्य जनता उच्च स्तरको अनुशासनमा बस्न सक्दैनन् त्यसकारण लेनिनले सामान्य जनता होईन, जनता मध्ये अग्रगामी तत्वहरुलाई लिएर नै पार्टीको निर्माण गर्ने कुरामा जोड दिनु भएको छ । सामान्य शब्दमा भन्नु पर्दा उनले पार्टीलाई आम जनताको होईन कार्यकर्ताको पार्टी बनाउने कुरामा बढी जोड दिनु भएको छ । त्यसरी पार्टीमा सामेल हुने कार्यकर्ताहरु आम जनता भन्दा फरक अग्रगामी, अन्य भन्दा सचेत, अनुशासित र जुझारु हुन्छन ।

२. वर्तमान अवस्थामा हाम्रो क्रान्तिकारी पार्टी र कार्यकर्ताहरुको जीवनशैली र व्यवहार सामान्य कामकाजी प्रकारको हुदै गईरहेको देखिन्छ यो क्रान्तिकारी पार्टीका लागी ज्यादै चिन्ताको विषय हो । संगठनलाई जीवन्त राख्न पार्टी र पार्टी कार्यकताहरुको नियमित क्रियाकलाप वा कार्यक्रमहरु मिहेनतकश जनतालाई आर्कषण गर्ने खालका रचनात्मक तथा जनपक्षिय कार्यक्रम हुनु जरुरी छ ।

कम्युनिष्ट पार्टीले गर्नु पर्ने क्रियाकलापका विषयमा लेनिनले भन्नु भएको छ “संगठनका विभिन्न अंङ्ग र सदस्यहरुका बिच जीवन्त सम्बन्ध हुनु पर्दछ । यस्तो सम्बन्ध पार्टीले गर्ने नियमित गतिविधि वा क्रियाकलापबाट मात्र स्थापित हुनसक्दछ । कानुनीरुपमा काम गर्ने कम्युनिष्ट पार्टी काममा सहभागी हुदैनन् यी पार्टीहरुको सबै भन्दा ठुलो कमजोरी यहि नै हो”(उहि पृष्ट..१४३) । 

कम्युनिष्ट पार्टीका सदस्यहरु सैद्धान्तिक र बैचारिक रुपमा परिपक्व भएन भने पार्टीका दैनिक क्रियाकलाप वा कार्यक्रममा वा व्यवहारगत सहभागितामा कमि आउने सम्भावना प्रबल हुन्छ । त्यसैले पार्टी सदस्यको निरन्तर सक्रियता र सहभागिताले नै पार्टी बलियो र अनुशासित बन्न सक्छ ।  

“कम्युनिष्ट पार्टी भित्र यदि क्रियाशिलताको अभाव छ र आम सदस्यमा निश्कृयता छाएको छ भने कम्युनिष्ट कार्यक्रमलाई स्विकार गर्दा जुन प्रतिज्ञा गरेको हुन्छ त्यसको एक मामुली अंश पनि पुरा गर्न सक्दैनन् । त्यसैले पार्टीको कार्यक्रम लागु गर्ने पहिलो शर्त नै पार्टीका दैनिक काममा सम्पुर्ण पार्टी सदस्यहरुको सक्रियता पुर्ण सहभागिता हो” (उहि पृष्ट..१४४)।

प्रत्येक कम्युनिष्ट पार्टीले हमेशा के कोसिस गर्नु पर्दछ भने उस संग सहि अर्थमा सक्रिय सदस्यहरु रहुन, सम्पुर्ण पार्टी कार्यकर्ताले यथासम्भव आफ्नो पुरै शक्ति र समय समाज, देश र जनताका समग्र विकासका लागी पार्टीलाई दिउन र यस किसिमका सेवामा आफ्नो सर्वोत्तम शक्ति सर्मपण गरुन् ।

वर्तमान युगमा नव युवाहरुलाई पार्टीमा जोडने र विज्ञान प्रविधिको उचित प्रयोग गर्न डिजिटल संगठन प्रणाली लागु गर्न पर्ने आवश्यकता छ । कम्युनिष्ट पार्टीको समाजवादी साहित्य र दर्शनको सामान्य ज्ञान नवयुवाहरु समक्ष पुर्याउनु आवश्यक र अनिवार्य कार्यक्रम बनाएर अगाडि बढ्नु पर्ने देखिन्छ देशमा नवयुवाहरुको चेतनामा सहि विचारको प्रवाह भएन भने साम्राज्यवादी शक्ति तथा अराजक तत्वहरुको कब्जामा जाने खतरा अत्याधिक देखिन्छ । 

त्यस कारण नवयुवाहरुलाई संगठित गर्दै देश र जनताको वास्तविक चित्र देखाउदै अनुशासित एंव सभ्य बनाउन प्रशिक्षित गर्न पर्ने आवश्यकता छ । 

त्यसैले पहिले कम्युनिष्ट पार्टी र त्यसका सदस्यहरुले समाजमा सामाजिक व्यवहार लाई प्राथमिकतामा राखेर जनसमुदायका दुख, पिडालाई आफ्नो सम्झिने, जन समुदायका समस्याहरुको उठान गरि समस्या समाधानका उपायहरुको खोजी गर्ने, समाधान गर्न प्रयत्न गर्ने काम लाई निरन्तरता दिनु पर्ने आवश्यकता छ । यस प्रकार नै हामीले देश र जनताको सेवा गर्ने काममा तल्लिन हुने र संगठनलाई मजबुत पारेर आफ्ना लक्ष्य उद्देश्यहरु पुरा गर्न सक्ने छौ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट