त्रिपुरेश्वर आत्मदाह घटना: मजदुरद्वारा ९ बुँदे माग अघि सार्दै आन्दोलनको चेतावनी
काठमाडौंको त्रिपुरेश्वरमा यात्रुवाहक बसका चालक अर्जुन दोङले आत्मदाह गरेको दुखद् घटनापछि यातायात क्षेत्रका ६ वटा महासंघ तथा संघ–संगठनहरूले सरकारसमक्ष विभिन्न ९ बुँदे माग अघि सारेका छन्।
संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले घटनाको सत्यतथ्य छानबिन, पीडित परिवारलाई क्षतिपूर्ति तथा ट्राफिक व्यवस्थापन र कानुनी प्रणालीमा व्यापक सुधार गर्न माग गरेका छन्।
प्रमुख मागहरू:
१) मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था गर्न तथा आगजनीबाट पूर्ण रूपमा क्षति भएका सवारीसाधनका धनीलाई पनि तत्काल क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने।
२) चालक र ट्राफिक प्रहरीबीच विवाद सुरु भएदेखि घटनासम्मको सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान, फोन सम्पर्क तथा सम्बन्धित प्रहरी अधिकारीको विवरणका आधारमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सरोकारवालासहितको न्यायिक छानबिन समिति गठन गर्नुपर्ने।
३) सबै यातायात श्रमिकहरूलाई श्रम ऐन, २०७४ अनुसार अनिवार्य रोजगार सम्झौता गराउन र सामाजिक सुरक्षा कोषमा सूचीकरण गर्ने व्यवस्था कानुनी रूपमै अनिवार्य गर्नुपर्ने।
४) सडकमा ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार, अनावश्यक हैरानी र कानुनी झमेलाविरुद्ध तत्काल उजुरी तथा पुनरावेदन गर्न सकिने गरी २४ घण्टे हेल्पलाइन र न्यायिक सुनुवाइ संयन्त्र स्थापना गर्नुपर्ने।
५) ट्राफिक प्रहरीको कामलाई प्रविधिमैत्री र जनमुखी बनाउँदै, उनीहरूको कार्यसम्पादन तथा व्यवहारको नियमित अनुगमन गर्न सरोकारवाला सम्मिलित संयन्त्र बनाउनुपर्ने।
६) सवारी तथा यातायात ऐनले ट्राफिक प्रहरीलाई दिएको अत्यधिक अधिकारलाई कानुनबमोजिम पुनर्व्यवस्थित गरिनुपर्ने तथा यातायात श्रमिकहरूको पेसागत मर्यादा र मानसिक सुरक्षालाई राज्यको यातायात सुरक्षा नीतिमा समेट्नुपर्ने।
७) उपत्यकाका मुख्य सहरहरूसहित देशभरका सडकहरूमा व्यवस्थित बसबिसौनी, सार्वजनिक शौचालय, भोजनालय र विश्रामस्थलजस्ता पूर्वाधारहरू श्रमिकमैत्री बनाउनुपर्ने।
यी मागहरू तत्काल सम्बोधन नभए शान्तिपूर्ण, लोकतान्त्रिक तथा कानुनसम्मत रूपमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी ६ वटै संगठनले संयुक्त संघर्ष समिति गठनमार्फत दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस