Techie IT
२०८३ मंसिर १०, बुधबार

इतिहासकै सबैभन्दा ठूलो मर्जरको तयारी : ३२ खर्ब डलरमा गाभिँदै स्पेसएक्स र टेस्ला

मर्जरको चर्चासँगै स्पेसएक्सले पछिल्लो त्रैमासमा अपेक्षाभन्दा निकै राम्रो वित्तीय नतिजा सार्वजनिक गरेको


विश्वकै धनाढ्य एलन मस्कका दुई विशाल कम्पनीहरू ‘स्पेसएक्स’ र ‘टेस्ला’ एकआपसमा गाभिने (मर्जर हुने) सम्भावना तीव्र बनेको छ । करिब ३.२ ट्रिलियन (३२ खर्ब) अमेरिकी डलर बराबरको यो सम्झौता कार्यान्वयनमा आए कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो मर्जर हुनेछ ।

अन्तर्राष्ट्रिय आर्थिक दैनिक फाइनान्सियल टाइम्स का अनुसार पूर्ण सेयर आदानप्रदान (अल-स्टक डिल) मार्फत हुने यो सम्झौता आगामी डिसेम्बर महिनामै औपचारिक रूपमा घोषणा हुन सक्नेछ । मर्जरको सम्भावनाबारे गृहकार्य गर्न दुवै कम्पनीले विशेष मूल्याङ्कन समिति गठन गरिसकेको मस्कले मंगलबार आयोजित वित्तीय समीक्षा बैठक (अर्निङ्स कल) मा पुष्टि गरेका छन् ।

अपेक्षाभन्दा राम्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएपछि र मस्कले मर्जर समितिको खुलासा गरेपछि बुधबार बिहान स्पेसएक्सको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने टेस्लाको सेयर मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ ।

मस्कले एआई (कृत्रिम बुद्धिमत्ता) सफ्टवेयर विकास, चिप डिजाइन र रोबोटिक्सको क्षेत्रमा दुई कम्पनीबीच सहकार्य हुँदा ठूलो लाभ मिल्ने बताउँदै मर्जरलाई ‘उत्कृष्ट विचार’ को संज्ञा दिएका छन् । यद्यपि, अन्तिम निर्णय सेयरधनीहरूकै हातमा रहने उनले स्पष्ट पारे ।

समितिमा ५ निर्देशक र ३ ठूला लगानी बैंक
मर्जर प्रक्रिया अघि बढाउन दुवै कम्पनीले पाँच जना निर्देशक र तीन वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय लगानी बैंकलाई जिम्मेवारी दिएका छन् । सम्झौताका लागि स्पेसएक्सका तर्फबाट रोलोफ बोथा र र्‍यान्डी ग्लेनले वार्ता गर्नेछन् भने टेस्लाका तर्फबाट रोबिन डेनहोम, क्याथलीन विल्सन-थम्पसन र ज्याक हार्टुङलाई वार्ता तथा सम्झौताको खाका तयार पार्ने अख्तियारी दिइएको छ ।

यी पाँचै जना निर्देशकको मस्कसँग पुरानो व्यावसायिक सम्बन्ध रहे पनि समितिले उनीहरूलाई आर्थिक रूपमा स्वतन्त्र मानेको छ । उनीहरूको मुख्य जिम्मेवारी सम्झौताको वस्तुनिष्ठ मूल्याङ्कन गरी आ-आफ्नो कम्पनीका सेयरधनीको हित संरक्षण गर्नु हुनेछ ।

वित्तीय मोडेलिङका लागि विश्वचर्चित बैंकहरू मोर्गन स्टेनली र गोल्डम्यान स्याक्सले स्पेसएक्सलाई सल्लाह दिइरहेका छन् भने एभरकोरलाई टेस्लाका तर्फबाट वित्तीय मोडेल तयार पार्ने जिम्मेवारी दिइएको छ ।

मर्जरपछि विश्वका शीर्ष ५ मूल्यवान् कम्पनीमा पर्ने
हालको बजार पुँजीकरणका आधारमा करिब १.७ ट्रिलियन डलर मूल्यसहित स्पेसएक्स विश्वको सातौँ ठूलो कम्पनी हो । यस्तै, १.५ ट्रिलियन डलर बजार पुँजीकरणसहित टेस्ला नवौँ स्थानमा छ । यी दुई कम्पनी गाभिएपछि बन्ने संयुक्त कम्पनीको कुल बजार मूल्य ३.२ ट्रिलियन डलर पुग्नेछ र यो विश्वका शीर्ष पाँच सर्वाधिक मूल्यवान् कम्पनीको सूचीमा सिधै प्रवेश गर्नेछ ।

मस्कले सन् २०२६ को सुरुवाततिरै यी दुई कम्पनी गाभ्ने सम्भाव्यताबारे संकेत गरेका थिए । गत जुलाईमा स्पेसएक्सको आईपीओ (सार्वजनिक निष्कासन) जारी भएपछि उनी मर्जरबारे खुलेर बोलेका थिएनन् । तर मंगलबारको बैठकमा उनले आफूलाई ‘स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) जोडिएको पक्ष’ बताउँदै प्रत्यक्ष वार्ता र समितिबाट अलग राखेको स्पष्ट पारे ।

अमेरिकी लगानी बैंक जेपी मोर्गनका अनुसार टेस्लासँगको मर्जरले रकेट तथा स्याटेलाइट इन्टरनेट कम्पनी स्पेसएक्सलाई अमेरिकी सेयर बजारको प्रतिष्ठित सूचकांक ‘एस एन्ड पी ५००’ (S&P 500) मा सामेल हुने ढोका खोल्नेछ ।

साधारणतया एस एन्ड पी ५०० मा सूचीकृत हुन सेयर बजारमा कारोबार सुरु भएको कम्तीमा १२ महिना पूरा हुनुपर्छ र अमेरिकी लेखा सिद्धान्त (GAAP) अनुसार पछिल्ला चार त्रैमासमा खुद नाफा आर्जन गरेको हुनुपर्छ । गत जुलाईमा मात्र सार्वजनिक भएको स्पेसएक्सले ती मापदण्ड पूरा गरिनसकेकाले टेस्लासँग गाभिएपछि यो सूचकांकमा सहजै प्रवेश पाउनेछ । यसबाट विश्वभरका ठूला इन्डेक्स फन्ड र म्युचुअल फन्डहरूले अनिवार्य रूपमा कम्पनीको सेयर खरिद (प्यासिभ बाइङ) गर्नुपर्ने हुन्छ, जसले सेयर मूल्यमा थप टेवा पुर्‍याउनेछ ।

स्पेसएक्सको नाफामा उछाल, युक्रेन विवाद भने कायमै
मर्जरको चर्चासँगै स्पेसएक्सले पछिल्लो त्रैमासमा अपेक्षाभन्दा निकै राम्रो वित्तीय नतिजा सार्वजनिक गरेको छ । अघिल्ला दुई त्रैमासको घाटा उल्ट्याउँदै कम्पनीले यस त्रैमासमा ४ अर्ब ४० करोड डलर खुद नाफा कमाएको छ । वाल स्ट्रिटका विश्लेषकहरूले १ अर्ब ५७ करोड डलर नाफाको अनुमान गरेका थिए । ‘सुपर इन्टेलिजेन्स’ र ‘स्टारलिङ्क’ स्याटेलाइट इन्टरनेट व्यवसायको बलमा कम्पनीको कुल आम्दानी अघिल्लो वर्षको तुलनामा १६१ प्रतिशतले बढेर १४ अर्ब ६० करोड डलर पुगेको छ ।

यद्यपि, युक्रेन युद्धमा स्टारलिङ्कको सैन्य संस्करण ‘स्टारसिल्ड’ को सेवा अवरुद्ध भएको विषयले स्पेसएक्सलाई विवादमा तानेको छ । वाल स्ट्रिट जर्नल ले मस्ककै आदेशमा युक्रेनमा स्टारलिङ्कको गति सुस्त बनाइएको समाचार प्रकाशित गरेपछि युक्रेनले आफ्नो प्रतिरक्षा प्रणालीमा गम्भीर असर परेको आरोप लगाएको छ । मस्कले भने सामाजिक सञ्जाल ‘एक्स’ मार्फत स्टारसिल्ड अमेरिकी सरकारको स्वामित्व र नियन्त्रणमा रहेको तथा यसको गति वा प्रयोग सीमित गर्ने निर्णय अमेरिकी सेना र राष्ट्रपतिले गर्ने दाबी गरेका छन् ।

दुई कम्पनी गाभिने क्रममा नगद कारोबारको सट्टा एक कम्पनीका सेयरधनीलाई अर्को कम्पनीको सेयर दिइने प्रक्रियालाई ‘अल-स्टक डिल’ भनिन्छ । यसमा दुवै कम्पनीको सेयर मूल्याङ्कनको निश्चित अनुपात (स्वाप रेसियो) का आधारमा नयाँ सेयर निष्कासन गरिन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट