आन्दोलनपछि बङ्गलादेशका गार्मेन्ट कामदारको न्यूनतम ज्याला ३६ प्रतिशतले वृद्धि
बङ्गलादेशमा लामो वार्ता र विरोध प्रदर्शनपछि गार्मेन्ट उद्योगका कामदारको न्यूनतम मासिक ज्याला ३६ प्रतिशत वृद्धि गर्ने सहमति जुटेको छ । बुधबार भएको सम्झौताअनुसार कामदारको न्यूनतम मासिक ज्याला १२ हजार ५०० टाकाबाट बढेर १७ हजार टाका (करिब १३९ अमेरिकी डलर) पुगेको छ ।
चीनपछि विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता बङ्गलादेशमा गत अक्टोबरदेखि कामदारले तलब वृद्धिको माग गर्दै व्यापक प्रदर्शन गर्दै आएका थिए । सम्झौता भएसँगै मजदुर प्रतिनिधिहरूले आन्दोलन रोकी काममा फर्कन कामदारलाई आग्रह गरेका छन् ।
मजदुर प्रतिनिधि बाबुल अख्तरले आफूहरू पूर्ण सन्तुष्ट नभए पनि वर्तमान अवस्थामा यो सम्झौता सकारात्मक रहेको प्रतिक्रिया दिए । उनका अनुसार यसअघि प्रत्येक पाँच वर्षमा ज्याला पुनरावलोकन हुने गरेकामा यसपटक तीन वर्षमै वृद्धि भएको हो ।
खाद्यान्न, आवास, यातायात र स्वास्थ्य सेवाको बढ्दो महँगी धान्न विद्यमान तलब अपर्याप्त रहेको भन्दै कामदारले सुरुमा न्यूनतम मासिक ज्याला ३० हजार टाका (करिब २४० अमेरिकी डलर) पुर्याउन माग गरेका थिए । सरकारद्वारा गठित गार्मेन्ट उद्योग ज्याला बोर्डका अध्यक्ष न्यायाधीश सैयद आजाद सुभानीले बुधबार बिहान भएको मतदानमा बहुमतले १७ हजार टाकाको प्रस्ताव पारित गरेको जानकारी दिए ।
बङ्गलादेश गार्मेन्ट उत्पादक तथा निर्यातकर्ता सङ्घका अनुसार विरोध प्रदर्शनका कारण उद्योगले करिब ४ करोड २८ लाख अमेरिकी डलर बराबरको प्रत्यक्ष नोक्सानी बेहोरेको छ भने २ करोड ५४ लाख अमेरिकी डलर बराबरका अर्डर अन्य देशमा सरेका छन् ।
क्रिसमसको व्यस्त व्यापारिक याम नजिकिँदै गर्दा भएको अवरोधले उद्योगलाई थप दबाबमा पारेको थियो । ‘फ्रुट अफ द लुम’ र ‘लेवी स्ट्रस’ जस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डलाई कपडा आपूर्ति गर्ने बङ्गलादेशको गार्मेन्ट उद्योगले वार्षिक करिब ३८ अर्ब अमेरिकी डलर (३ हजार ८०० करोड डलर) आम्दानी गर्छ । यस क्षेत्रले बङ्गलादेशको कुल निर्यात आम्दानीको ८० प्रतिशत (पाँच भागको चार भाग) हिस्सा ओगट्दै आएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस