Techie IT
२०८३ मंसिर १०, बुधबार

दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै


निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । कार्कीको रिटमाथिको पेसी न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा तोकिएको छ ।

सरकारले गत कात्तिक १८ गते मन्त्रिपरिषद् बैठकमार्फत कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारीबाट हटाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै एआईजी डा. मनोजकुमार केसीलाई आईजीपीमा बढुवा गरेको थियो । सरकारले गैरकानुनी रूपमा पदमुक्त गरेको दाबी गर्दै कार्कीले उक्त निर्णय बदर गरी आईजीपीमा पुनर्बहालीको मागसहित कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश नदिई दुवै पक्षलाई छलफलका लागि सोमबार (मंसिर ७ गते) बोलाएको थियो ।

सर्वोच्च अदालतले मंसिर ४ गते आईजीपी डा. केसीका नाममा म्याद जारी गरेको थियो । अदालतको आदेशअनुसार म्याद बुझाउन तामेलदार प्रहरी प्रधान कार्यालय पुग्दा त्यहाँका कर्मचारीले ‘आईजीपी बैठकमा जानुभएको छ, फर्केर आउनुहुन्छ’ भन्दै कार्यालय समयसम्म पर्खाएका थिए ।

तर, कार्यालय समय सकिँदासम्म पनि आईजीपी केसी उपस्थित नभएको र कार्यालयले समेत म्याद बुझ्न अस्वीकार गरेपछि तामेलदारले म्याद तामेल हुन नसकेको प्रतिवेदन अदालतमा पेस गरेका थिए ।

सोमबारको सुनुवाइका क्रममा विपक्षी प्रहरी प्रधान कार्यालयका तर्फबाट उपस्थित कानुन व्यवसायीले ‘प्राविधिक कारणले’ म्याद बुझ्न नसकिएको भन्दै पुनः म्याद जारी भए फिर्ता नहुने प्रतिबद्धतासहित इजलाससमक्ष अनुरोध गरेका थिए । सोहीअनुरूप इजलासले प्रहरी प्रधान कार्यालयको प्रतिनिधित्व गर्ने कानुन व्यवसायीमार्फत नै मंसिर ४ गतेको म्याद बुझाई नियमानुसार पेस गर्न आदेश दिएको थियो ।

इजलासले पेसीमा प्राथमिकता दिई पालो समेत आउने गरी बुधबार (मंसिर ९ गते) का लागि अर्को पेसी तोक्न र त्यसको जानकारी महान्यायाधिवक्ताको कार्यालयलाई समेत दिन आदेश दिएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट