Techie IT
२०८२ श्रावण १२, सोमबार

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा ढिलाइ, १० करोडभन्दा बढी बजेट फिर्ता

समयमै कार्य प्रगति नहुँदा ठूलो रकम फिर्ता गर्नुपरेको हो।


चितवन — भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यमा ढिलाइ भएपछि संघीय र प्रदेश सरकारले विनियोजन गरेको १० करोड रुपैयाँभन्दा बढी रकम फिर्ता भएको छ।

भरतपुर महानगरपालिकाको समन्वयमा निकासा भएको उक्त रकम निर्माण व्यवसायीले तोकिएको समयसीमाभित्र काम नगरेपछि पुनः संघ र प्रदेश सरकारलाई फिर्ता गरिएको हो।

महानगरपालिकाका डिभिजन इञ्जिनियर सन्तोष आचार्यका अनुसार, संघीय सरकारले गत आर्थिक वर्षमा रंगशालाका लागि २५ करोड रुपैयाँ निकासा गरेको थियो। तर, त्यसमध्ये १७ करोड ६५ लाख ६९ हजार ८३० रुपैयाँ मात्र खर्च भयो। बाँकी ७ करोड ३४ लाख ३० हजार १७० रुपैयाँ फिर्ता भएको उनले जानकारी दिए।

यसैगरी, बागमती प्रदेश सरकारले दिएको १० करोडमध्ये ६ करोड ८० लाख मात्र खर्च भएको छ। त्यसअनुसार ३ करोड २० लाख रुपैयाँ फिर्ता गरिएको हो। बागमती प्रदेश सरकारले रंगशाला निर्माणको ७० प्रतिशत खर्च बेहोर्ने, बाँकी ३० प्रतिशत भरतपुर महानगरपालिकाले व्यहोर्ने सहमति थियो। संघीय सरकारले महानगरको तर्फबाट हुने खर्चका लागि रकम निकासा गरेको थियो।

महानगरपालिकाले आफूले विनियोजन गरेको ५ करोड रुपैयाँसमेत खर्च गर्न नसक्दा फ्रिज भएको छ। निर्माण कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४० प्रतिशत कार्य प्रगति गर्नुपर्ने शर्त थियो। तर, आर्थिक प्रगति २.४९ प्रतिशत मात्र रहेको छ। यद्यपि, हाल भौतिक प्रगति ३० प्रतिशत पुगेको इञ्जिनियर आचार्यले जानकारी दिए।

रंगशाला निर्माणको जिम्मा लिएको हिमालयन–कालिञ्चोक–बिबिआर ज्वाइन्टभेञ्चरले २०७८ असार २३ गते ७८ करोड ५० लाख ९१ हजार रुपैयाँमा सम्झौता गरेको थियो। सम्झौताअनुसार रंगशाला २०८३ पुस २२ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ।

हालसम्म पाँच हजार दर्शक क्षमताको प्याराफिटको ढलान कार्य सम्पन्न भइसकेको छ भने दुई हजार क्षमताको अर्को प्याराफिटको काम जारी छ। दुई वटा टावरमध्ये एउटाको भूइँतलाको ढलान, अर्कोको निर्माण कार्य भइरहेकाे छ। २ सय मिटर नाली ढाकिएको छ भने १५५ मिटर कम्पाउन्ड वाल निर्माण सम्पन्न भएको छ। साथै, पाँच सय किलोवाट क्षमताको ट्रान्सफर्मरसमेत जडान भइसकेको छ।

काममा ढिलाइ भएपछि दुई महिनाअघि भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीलगायत प्राविधिक टोलीले स्थलमै पुगेर निर्माण कम्पनीलाई ४० प्रतिशत काम समयमा सम्पन्न गर्न आग्रह गरेका थिए। तर, समयमै कार्य प्रगति नहुँदा ठूलो रकम फिर्ता गर्नुपरेको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट