कार्कीलाई सर्वोच्चको झट्का : अन्तरिम आदेश अस्वीकार, मनोज केसी नै आईजीपीमा निरन्तर
काठमाडौँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। अदालतको यो आदेशसँगै कार्की आईजीपीमा पुनर्बहाली हुने ढोका तत्कालका लागि बन्द भएको छ भने नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीले नै निरन्तरता पाउने भएका छन्।
न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि निवेदक कार्कीको मागबमोजिम हाल अन्तरिम आदेश जारी गरिरहनु नपर्ने ठहर गरेको हो। यद्यपि, अदालतले विषयवस्तुको गाम्भीर्य र संवेदनशीलतालाई ध्यानमा राख्दै लिखित जवाफ परेको ७ दिनभित्र ‘पेसी हटाउन नपाउने गरी’ अन्तिम सुनुवाइका लागि पेस गर्न निर्देशनात्मक आदेशसमेत दिएको छ।
गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्दै डा. केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध कार्कीले उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
अन्तरिम आदेश नदिनुका ४ आधार
संयुक्त इजलासले जारी गरेको आदेशमा मुख्यतया चारवटा कानुनी तथा व्यावहारिक आधारमा टेकेर अन्तरिम आदेश दिन अस्वीकार गरिएको उल्लेख छ:
१. नवनियुक्त आईजीपीले कार्यभार सम्हालिसकेको अवस्था:
अदालतले मिसिल अध्ययन गर्दा प्रत्यर्थी डा. मनोजकुमार केसी सरकारको कात्तिक १८ को निर्णयअनुसार आईजीपी पदमा बढुवा भई सोही दिन नियुक्ति बुझेर कार्यभारसमेत सम्हालिसकेको देखिएको उल्लेख गरेको छ। निर्णय कार्यान्वयन भई नयाँ नेतृत्वले काम सुरु गरिसकेको अवस्थामा तत्काल पुरानो स्थितिमा फर्काउन अदालत अनिच्छुक देखिएको हो।
२. शान्ति सुरक्षा र 'चेन अफ कमान्ड'को संवेदनशीलता:
अदालतले यस मुद्दालाई सामान्य प्रशासनिक सरुवा वा बढुवाका रूपमा मात्र नहेरी देशको शान्ति सुरक्षा कायम गर्ने प्रहरी संगठनको नेतृत्वसँग सम्बन्धित सार्वजनिक महत्त्वको संवेदनशील विषयका रूपमा व्याख्या गरेको छ। प्रहरी संगठनको नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) मा तत्काल हस्तक्षेप गर्दा शान्ति सुरक्षामा पर्न सक्ने प्रभावप्रति अदालतले सतर्कता अपनाएको छ।
३. अन्तिम सुनुवाइबाटै निरूपण हुने कानुनी प्रश्न:
निवेदक कार्कीले माग गरेको न्यायिक उपचार र अन्तरिम आदेशसँग जोडिएका कानुनी प्रश्नहरू प्रारम्भिक चरणमा मात्र टुङ्ग्याउन नसकिने देखिएको छ। ती विषयहरू रिट निवेदनको अन्तिम सुनुवाइ हुँदा नै पूर्ण रूपमा निरूपण तथा सम्बोधन हुने प्रकृतिको रहेको इजलासको ठहर छ।
४. सुविधा सन्तुलनको सिद्धान्त:
कार्यभार ग्रहण भइसकेको अवस्था, सुरक्षा संवेदनशीलता र कानुनी प्रश्नको प्रकृतिलाई मूल्याङ्कन गर्दा ‘सुविधा र सन्तुलन’ (Balance of Convenience) सरकारकै पक्षमा देखिएको र निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको अदालतले स्पष्ट पारेको छ।
अन्तरिम आदेश जारी नगरे पनि सर्वोच्चले यो विवादलाई लामो समयसम्म अल्झाएर राख्न नहुनेमा गम्भीरता देखाएको छ। राज्यको शान्ति सुरक्षा र प्रहरी नेतृत्वसँग जोडिएको विषय भएकाले छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएको इजलासको ठहर छ।
आदेशअनुसार प्रत्यर्थीहरू (सरकार, प्रहरी प्रधान कार्यालय र केसी) बाट लिखित जवाफ परेपछि वा जवाफ पेस गर्ने अवधि सकिएपछि ७ दिनभित्रै पेसी चढाउन भनिएको छ। अन्तिम सुनुवाइका लागि तोकिने उक्त पेसी स्थगित गर्न नपाइने पूर्वसूचना दुवै पक्षलाई दिई नियमानुसार पेस गर्न पनि इजलासले आदेश गरेको छ।
बुधबारको सुनुवाइमा निवेदक कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, पूर्णमान शाक्य, डा. दिनमणि पोखरेललगायतले बहस गरेका थिए। त्यस्तै, सरकारको तर्फबाट महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल, डा. केसीका तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट तथा प्रहरी प्रधान कार्यालयको तर्फबाट अधिवक्ता करुणाकर मल्लिकले बहस गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस