Techie IT
२०८३ मंसिर १०, बुधबार

४ दिनमा सवारी दुर्घटनाबाट २० जनाको मृत्यु


देशभर सवारी दुर्घटनाको ग्राफ भयावह बन्दै गएको छ। 

पछिल्लो चार दिन (मंसिर ६ देखि ९ गतेसम्म) को अवधिमा मात्र देशका १७ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २० जनाले अकालमा ज्यान गुमाएका छन्। नेपाल प्रहरीको दैनिक बुलेटिन अनुसार मंसिर ६ गते २ जना, मंसिर ७ गते ७ जना, मंसिर ८ गते ६ जना र मंसिर ९ गते ५ जनाको सवारी दुर्घटनामा मृत्यु भएको हो।

बुधबार (मंसिर ९) प्रकाशित प्रहरी बुलेटिनअनुसार कञ्चनपुर, तनहुँ, धनुषा, सिराहा र नवलपरासी पश्चिममा भएका दुर्घटनामा ५ जनाको मृत्यु भएको छ। कञ्चनपुरको पुनर्वास नगरपालिका–१ मा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा बेलौरीका ३५ वर्षीय राजकुमार राना र तनहुँको व्यास नगरपालिका–१ मा ईभी भ्यान र स्कुटर ठोक्किँदा ऋषिङका ४८ वर्षीय सुधिर थापाको ज्यान गएको छ। यस्तै, धनुषाको कमला नगरपालिका–२ मा ट्याक्टर ब्याक गर्ने क्रममा खसेर सोही ट्याक्टरको चक्काले किच्दा हंसपुरका १४ वर्षीय बालक जिसान्तकुमार मण्डलको मृत्यु भएको छ भने सिराहाको गोलबजार–४ मा स्कर्पियोको ठक्करबाट साइकलयात्री ५० वर्षीय वसन्त महरा र नवलपरासी पश्चिमको सरावल–१ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ५० वर्षीय निमबहादुर चौधरीले ज्यान गुमाएका छन्।

त्यसअघि मंसिर ८ गते सिराहा, धादिङ, कास्की, पर्सा, बर्दिया र चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो। सिराहाको कर्जन्हा–१ मा बसको ठक्करबाट पैदलयात्री धनुषाकी ३३ वर्षीया प्रमेश्वरीदेवी पासवान र चितवनको भरतपुर–१ रामनगरमा बसकै ठक्करबाट पहिचान नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको मृत्यु भएको छ। सोही दिन धादिङको गल्छीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालक डडेल्धुराका २८ वर्षीय वरुणप्रसाद भट्ट, कास्कीको पोखरा–३२ मजुवामा स्कुटर दुर्घटना हुँदा तनहुँका ६१ वर्षीय माधवप्रसाद शर्मा, पर्साको वीरगन्ज–२५ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६५ वर्षीया राधिका देवी र बर्दियाको बाँसगढी–५ मा मिनी ट्रकको ठक्करबाट पहिचान नखुलेका अन्दाजी ३० वर्षीय साइकलयात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

चार दिनको अवधिमा सबैभन्दा बढी मंसिर ७ गते सिन्धुली, रोल्पा, झापा, बर्दिया, नवलपरासी पूर्व र अर्घाखाँचीमा भएका दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन्। सिन्धुलीको कमलामाई–२ मा बोलेरोबाट खसेर घ्याङलेखका ५८ वर्षीय मानध्वज योन्जन र बर्दियाको बढैयाताल–८ मा ट्याक्टरबाट खसेर ३२ वर्षीया रमा कुँवरको मृत्यु भएको छ। यस्तै, रोल्पाको सुनिलस्मृति–२ मा ट्याक्टर दुर्घटना हुँदा चालक ३० वर्षीय जय सिंह, झापाको शिवसताक्षी–१० मा सिटी सफारी दुर्घटना हुँदा ४० वर्षीय हस्त राजवंशी र मेचीनगर–१५ मा स्कुटर दुर्घटना हुँदा चालक भद्रपुरका ५५ वर्षीय नगेन्द्र सापकोटाको ज्यान गएको छ। सोही दिन नवलपरासी पूर्वको देवचुली–१४ मा बसको ठक्करबाट पैदलयात्री बुटवलकी ६० वर्षीया मञ्जु रिजाल शर्मा र अर्घाखाँचीको सन्धिखर्क–१ मा स्कुटर दुर्घटना हुँदा चालक ५३ वर्षीय कृष्णबहादुर सुनारको मृत्यु भएको थियो।

यसैगरी, मंसिर ६ गते बारा र महोत्तरीमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको थियो। बाराको सुवर्ण गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट पैदलयात्री भारतीय नागरिक २३ वर्षीय विक्रम कुमार र महोत्तरीको बर्दिबास–१४ मा मोटरसाइकल दुर्घटना हुँदा चालक ४० वर्षीय रामलोपचन लामाको मृत्यु भएको प्रहरीको तथ्याङ्क छ। दुर्घटनामा संलग्न अधिकांश सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने ठक्कर दिएर फरार भएका केही सवारी र चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट