जिम गर्ने क्रममा हृदयघातले भारतका युवा क्रिकेटर प्रियजित दासको निधन

भारतको पश्चिम बंगाल राज्यका एक उदयमान क्रिकेट खेलाडीको जिम गर्दैगर्दा हृदयघातका कारण निधन भएको छ।
२२ वर्षीय प्रियजित दासको शुक्रबार बिहान वीरभूम जिल्लास्थित बोलपुरमा जिम सत्रका क्रममा अचानक हृदयघात भएर निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दास पश्चिम बंगालको तर्फबाट रणजी ट्रफीमा खेल्दै आएका थिए र निकट भविष्यमा राष्ट्रिय टिममा स्थान बनाउने लक्ष्यसहित प्रशिक्षणमा सक्रिय थिए । उनको क्रिकेट यात्रा जिल्ला स्तरबाट सुरु भएको थियो । सन् २०१८/१९ मा क्रिकेट एसोसिएसन अफ बंगाल (CAB) ले आयोजना गरेको अन्तर-जिल्ला यू-१६ प्रतियोगितामा उनी सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । सो उपलब्धिको सम्मानमा CAB ले उनलाई विशेष सम्मानसमेत गरेको थियो ।
प्रत्यक्षदर्शीका अनुसार दास प्रत्येक दिन जस्तै शुक्रबार बिहान पनि बोलपुरस्थित मिशन कम्पाउन्डको जिममा व्यायाम गर्न पुगेका थिए । जिम सत्रकै क्रममा पसिना झार्दै गर्दा उनी अचानक अस्वस्थ भए र लडेको केही समयमै हृदयघातका कारण ज्यान गुमाएका हुन् ।
उनको असामयिक निधनले खेल क्षेत्रका व्यक्तित्व र समर्थकहरूलाई स्तब्ध बनाएको छ। क्रिकेट एसोसिएसन अफ बंगालले शोक वक्तव्य जारी गर्दै दासको निधनले पश्चिम बंगाल क्रिकेटले एक होनहार खेलाडी गुमाएको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस