Techie IT
२०८२ कार्तिक १, शनिबार

नेपालको ऐतिहासिक सफलता : ट्वान्टी–२० विश्वकपमा छनोटसँगै क्षेत्रीय उपाधि पनि कब्जा


ट्वान्टी–२० विश्वकपमा छनोट भइसकेको नेपालले एसिया–इस्ट एसिया प्यासिफिक छनोट उपाधि समेत जित्दै दोहोरो खुसी मनाएको छ। शुक्रबार ओमानमा भएको अन्तिम खेलमा नेपालले सामोआलाई १२४ रनले पराजित गर्दै अपराजित रहँदै विजेता बनेको हो।

यो नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) द्वारा आयोजित प्रतियोगिताहरूमा जितेको सबैभन्दा ठूलो उपाधि हो। यसअघि सन् २०१८ को अक्टोबरमा मलेसियामा नेपालले ट्वान्टी–२० विश्वकप एसिया छनोटको इस्टर्न क्षेत्रीय प्रतियोगिता जितेको थियो।

सुपर सिक्स चरणमा लगातार तीन खेल जित्दै ८ अंकसहित नेपालले यसअघि नै सन् २०२५ फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने २० राष्ट्र सहभागी ट्वान्टी–२० विश्वकपका लागि छनोट सुनिश्चित गरेको थियो।

नेपालले अपराजित रहँदै १० अंकसहित उपाधि हात पारेको हो। ओमान ८ अंकसहित दोस्रो र यूएई ६ अंकसहित तेस्रो स्थानमा रहे। सामोआमाथि जितसँगै नेपालले ओमानलाई २ अंकले पछाडि पारेको हो।

पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनायो। ओपनर जोडी आसिफ शेख र कुशल भुर्तेलले पहिलो ६ ओभरमा ६१ रनको आक्रामक साझेदारी गर्दै पारीको बलियो सुरुआत गरे।

भुर्तेल १५ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए। आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रनको उत्कृष्ट पारी खेले, जुन उनको ट्वान्टी–२० अन्तर्राष्ट्रिय करियरको उच्च स्कोर हो।

दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको अर्धशतक पूरा गरे, जसमा २ चौका र ४ छक्का समावेश थिए। कप्तान रोहित पौडेलले ११ बलमा २२ रन (१ चौका, १ छक्का) बनाए भने लोकेश बम १२ बलमा २ चौका र ४ छक्कासहित ३९ रनमा अविजित रहे। नेपालले अन्तिम ५ ओभरमा ७९ रन जोडेको थियो।

२ सय १२ रनको लक्ष्य पछ्याएको सामोआ ७ विकेट गुमाउँदै ८७ रनमै सीमित रह्यो। ओपनर सिन सोलिआले सर्वाधिक ४० रन बनाए। ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडन राखी १३ रन खर्चेर ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले समान १–१ विकेट लिए।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट