अमेरिकाका क्रिकेटर रेड्डी निलम्बित, यस्ता छन् आरोपहरु
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले संयुक्त राज्य अमेरिकाका क्रिकेटर बोडुगम अखिलेश रेड्डीलाई भ्रष्टाचार विरोधी संहिता उल्लंघन गरेको अभियोगमा निलम्बन गरेको छ।
इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी)को तर्फबाट आईसीसीले उनीमाथि तीनवटा गम्भीर आरोप लगाएको हो। युएईमा जारी ‘अबुधाबी टी–१० लिग २०२५’ का क्रममा उनीमाथि संहिताका प्रावधान उल्लंघन गरेको आरोप लागेको हो।
आईसीसीको भ्रष्टाचार विरोधी इकाइ (ACU) ले रेड्डीमाथि लगाएका आरोपहरू यसप्रकार छन्:
१. खेल प्रभावित पार्ने प्रयास (धारा २.१.१)
अबुधाबी टी–१० लिगका खेलहरूको नतिजा, प्रदर्शन वा आचरणलाई अनुचित रूपमा प्रभावित पार्ने, खेल फिक्सिङ गर्ने वा त्यससम्बन्धी सम्झौतामा संलग्न भएको आरोप लगाएको छ ।
२. अरुलाई फिक्सिङका लागि उक्साएको (धारा २.१.४)
प्रतियोगिताका दौरान अन्य खेलाडी वा सहभागीलाई खेल मिलेमतोमा संलग्न हुन उक्साउने, प्रस्ताव गर्ने, निर्देशन दिने वा सहजीकरण गर्न खोजेको आरोप छ ।
३. छानबिनमा अवरोध गरेको (धारा २.४.७)
अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने उद्देश्यले आफ्नो मोबाइलबाट महत्त्वपूर्ण डाटा वा सन्देशहरू हटाई छानबिनमा अवरोध पुर्याएको आरोप पनि लगाएको छ ।
यी आरोपहरू लगाइएसँगै रेड्डीलाई तत्कालतः सबै किसिमका क्रिकेट गतिविधिबाट अस्थायी रूपमा निलम्बन गरिएको छ। उनले आफूमाथि लागेका आरोपको लिखित जवाफ बुझाउन २०२५ नोभेम्बर २१ देखि १४ दिन समय पाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस