शेफर्डको ह्याट्रिकसहित पाँच विकेट, वेस्ट इन्डिजको विजयी सुरुवात
टी–२० विश्वकपमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रनले हरायो ।
१८३ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १८.५ ओभरमै १४७ रनमा अलआउट भयो । उसका लागि रिची बेरिङटनले सर्वाधिक ४२ रन बनाउँदा टम ब्रुसले ३५ रन जोडे । जर्ज मुन्सीले १९, मार्क वाटले १५ तथा ब्रान्डन म्याकमुलेनले १४ रन बनाएका थिए ।
स्कटल्यान्डको इनिङ ध्वस्त पार्न रोमारियो शेफर्डले ह्याट्रिकसहित पाँच विकेट लिए । आजदेखि सुरु भएको प्रतियोगितामा पहिलो ह्याट्रिक गर्ने खेलाडीका रूपमा उनले नाम दर्ता गराएका छन् । जेसन होल्डरले तीन विकेट लिँदा समर जोसेफ र गुडाकेश मोटीले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा पाँच विकेट गुमाउँदै १८२ रन बनाएको थियो ।
उसका लागि शिमरोन हेटमायरले विस्फोटक पारी खेल्दै ३६ बलमा ६४ रन बनाए । उनले छ छक्का र दुई चौका प्रहार गरे । ब्रान्डन किंगले ३५, रोभमान पोवेलले २४, शाई होपले १९ तथा शेरफेन रदरफोर्डले २६ रन जोडेका थिए ।
बलिङतर्फ स्कटल्यान्डका ब्राड्ली जेम्स कुरीले दुई विकेट लिँदा ओलिभर डेभिडसन, सफ्यान शरिफ र माइकल लिस्कले एक–एक सफलता हात पारेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस