Techie IT
२०८३ कार्तिक ११, मंगलबार

कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स १९ रनले पराजित


नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सम्पन्न खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा सुखद र विजयी सुरुवात गरेको छ। कर्णालीले दिएको १३३ रनको मध्यम लक्ष्य पछ्याएको जनकपुर ३ बल बाँकी छँदै मात्र ११३ रनमा समेटिन पुग्यो।

जनकपुरका लागि अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए भने कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९–१९ रनको योगदान दिएका थिए । त्यस्तै जिम्मी निसमले १५, मयंक यादवले १४ र अनिलकुमार शाहले ११ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

जनकपुरलाई सस्तैमा समेट्न कर्णालीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। युनिस ठकुरी र हुसेन तलतले समान ३–३ विकेट लिए। युनिसले ४ ओभरमा १ मेडनसहित ३ विकेट लिने क्रममा एकै ओभरमा जनकपुरका कप्तान हर्मीत र जिम्मी निसमलाई आउट गर्दै खेल कर्णालीको पकडमा ल्याएका थिए। त्यस्तै नन्दन यादवले २ तथा कप्तान सोमपाल कामीले १ विकेट हात पारे।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको थियो। सुरुवाती ओभरमै विकेट गुमाएर दबाबमा परेको कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन (२९ बल, ४ चौका) र पवन सर्राफले ३७ रन बनाए। चौथो विकेटका लागि यी दुईबीच भएको ४२ रनको महत्त्वपूर्ण साझेदारीले टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याएको थियो। जनकपुरका तर्फबाट कप्तान हर्मीत सिंहले ३, मोइन अली र राहुल यादवले २–२ तथा ललित राजवंशीले १ विकेट लिएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट