Techie IT
२०८३ श्रावण ३, आइतबार

Kylian Mbappe

एम्बाप्पेको भावुक अभिव्यक्ति: "शीर्ष गोलकर्ता बन्नुभन्दा फाइनल खेल्न चाहन्थेँ"


फिफा विश्वकप २०२६ मा फ्रान्स सेमिफाइनलबाट बाहिरिएपछि टोलीका कप्तान किलियन एम्बाप्पेले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा टोलीको सफलता र उपाधि आफ्ना लागि बढी महत्त्वपूर्ण भएको बताएका छन्। तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्डविरुद्ध दुई गोल गर्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका २७ वर्षीय एम्बाप्पेले खेलपछि आफ्नो भावना व्यक्त गरेका हुन्।

इंग्ल्यान्डसँग ६–४ को ऐतिहासिक हार व्यहोरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एम्बाप्पेले भने, "विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बन्नुभन्दा पनि म आजको फाइनल खेल खेल्न चाहन्थेँ। व्यक्तिगत रूपमा यो मेरो फुटबल यात्राका लागि एउटा सुन्दर कीर्तिमान (Legacy) हो, तर आज मेरो दिमागमा यो पहिलो प्राथमिकतामा छैन।"

मेसीले फाइनलमा गोल गर्नेमा ढुक्क
एम्बाप्पेले आइतबार राति (नेपाली समय अनुसार सोमबार बिहान) साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच हुने उपाधि भिडन्तमा लियोनेल मेसीले गोल गर्ने दाबी गरेका छन् । उनले भने, “मेसीले फाइनलमा गोल गर्नेछन्, यो पक्का छ। म त केवल आफ्नो टोलीलाई जिताउन मद्दत गर्ने प्रयास गरिरहेको थिएँ। विश्वकपमा धेरै गोल गर्दा खेलाडीको एक फरक पहिचान भने पक्कै बन्छ।”

एम्बाप्पेले निकै आक्रामक तर स्पष्ट अन्तर्वार्ता दिँदै कप्तानको हैसियतमा टोलीको प्रदर्शनको पूर्ण जिम्मेवारी लिएका थिए। अंग्रेजीमा बोल्दै उनले आफ्नो आक्रोश लुकाएनन् र भने, "जब तपाईं जित्नुहुन्छ, सबै प्रशंसा तपाईंले नै पाउनुहुन्छ। तर जब हार्नुहुन्छ, तब आलोचना र गाली पनि आफैँले सहनुपर्छ। यो खेल र मेरो जीवनको हिस्सा हो। कप्तानको रूपमा म यो सबै जिम्मेवारी लिन तयार छु।"

सेमिफाइनल र तेस्रो स्थानको खेलमा पहिलो हाफमा टोलीले गरेको कमजोर प्रदर्शनप्रति उनले आत्मालोचना समेत गरे। इंग्ल्यान्डविरुद्ध पहिलो हाफमै ४ गोल खाएको खेललाई स्मरण गर्दै उनले दोस्रो हाफमा लय फर्किए पनि जित निकाल्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

एम्बाप्पेको महाकीर्तिमान
फ्रान्सेली स्टार एम्बाप्पेले विश्वकपका २२ खेल खेल्दै कुल २२ गोलका साथ मिरोस्लाभ क्लोज र लियोनेल मेसी (२१ गोल) लाई पछि पार्दै 'अल-टाइम' शीर्ष गोलकर्ताको इतिहास रचेका छन्। जारी विश्वकप २०२६ मा मात्रै १० गोल गर्दै उनी गोल्डेन बुटको दौडमा ८ गोल गरेका मेसीभन्दा २ गोलले अगाडि रहँदै शीर्ष स्थानमा छन्। ३९ वर्षीय मेसीका लागि यो सम्भवतः अन्तिम विश्वकप खेल भए पनि २७ वर्षीय रियल म्याड्रिडका फरवार्ड एम्बाप्पेसँग भने अझै आगामी विश्वकप खेल्ने उमेर बाँकी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट