भारत–पाकिस्तान तनावपछि स्थगित आईपीएल जेठ ३ देखि पुनः सुरु हुने

भारत–पाकिस्तानबीचको पछिल्लो तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल) २०२५ आगामी जेठ ३ गते (१७ मे) बाट पुनः सुरु हुने भएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले सोमबार परिमार्जित तालिका सार्वजनिक गर्दै खेल पुनः सुरु हुने जानकारी दिएको हो ।
बीसीसीआईले जारी गरेको नयाँ तालिका अनुसार जेठ ३ गतेको खेलमा बेंगलुरु र कोलकाता आमनेसामने हुनेछन् । लिग चरणको अन्तिम खेल भने लखनउ र बेंगलुरुबीच लखनउमा जेठ १७ गते (३१ मे) हुनेछ । फाइनल खेल जेठ २० गते (३ जुन) हुने तालिका छ ।
यसअघि कुनै खेल नहुने भनिएको जयपुर पनि अन्ततः खेल स्थलमा समावेश गरिएको छ । अब बाँकी १७ खेलहरू बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबाद गरी छ शहरमा आयोजना हुनेछन् । प्लेअफको स्थान भने पछि घोषणा गरिने बीसीसीआईले जनाएको छ ।
बीसीसीआईले विज्ञप्तिमा भनेको छ, "सरकार, सुरक्षा निकायहरू र अन्य सरोकारवालासँग विस्तृत छलफलपछि टाटा आईपीएल २०२५ पुनः सुरु गर्ने निर्णय भएको हो ।"
यसअघि धर्मशाला रंगशालामा पञ्जाब किङ्ग्स र दिल्ली क्यापिटल्सबीचको खेल भइरहेका बेला पाकिस्तानतर्फबाट भारतीय भूमिमा आक्रमण सुरु भएको भन्दै खेल बीचमै रोकिएको थियो । त्यसपछि प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
आईपीएलले जानकारी दिए अनुसार, बाँकी १७ खेलहरू आइतबार दोहोरो खेल (डबल–हेडर) सहित सञ्चालन गरिनेछन् ।

तपाईको प्रतिक्रिया दिनुहोस