Techie IT
२०८२ चैत्र ६, शुक्रबार

पूर्णागिरि मेलाको प्रभाव: महेन्द्रनगरमा भारतीय दर्शनार्थीको चहलपहल बढ्यो


कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा भारतीय दर्शनार्थीको उल्लेख्य घुइँचो लागेको छ। भारतको उत्तराखण्डस्थित चम्पावत जिल्लाअन्तर्गत चुरे पर्वत शृङ्खलामा रहेको पूर्णागिरि माताको दर्शनपछि महेन्द्रनगर र ब्रह्मदेवस्थित सिद्धनाथ मन्दिरमा पूजा–आराधना गरेपछि मात्र मनोकामना पूरा हुने धार्मिक मान्यताका कारण यहाँ दर्शनार्थीको भीड बढेको हो।

फागु पूर्णिमादेखि नै मेला सुरु भए पनि आज बिहानदेखि दर्शनार्थीको संख्या अत्यधिक बढेको छ। बिहानैदेखि हजारौँको संख्यामा भक्तजन भेला भएपछि मन्दिर परिसर र आसपासका क्षेत्रमा नेपाल प्रहरी तथा भीमदत्त नगरपालिकाको नगर प्रहरी व्यवस्थापनमा खटिएका छन्।

“पूर्णागिरिको दर्शनपछि सिद्धनाथ मन्दिरमा पूजा गर्नुपर्ने मान्यताका कारण हरेक वर्ष हजारौँ दर्शनार्थी यहाँ आउने गर्छन्,” कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले बताए। उनका अनुसार दर्शनार्थीका लागि मन्दिर नजिकै भण्डाराको समेत व्यवस्था गरिएको छ।

दर्शनार्थीको भीडसँगै महेन्द्रनगर, ब्रह्मदेव, गड्डाचौकीलगायत क्षेत्रको चहलपहल पनि बढेको छ। बजार क्षेत्रमा पार्किङ व्यवस्थापन गर्न स्थानीय प्रशासनले प्रयास गरिरहेको छ।

ब्रह्मदेवस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष केशवसिंह नायकका अनुसार नवरात्रिको अवधिमा दैनिक हजारौँ दर्शनार्थी मन्दिर दर्शनका लागि आउने गर्छन्। उनका अनुसार फागु पूर्णिमादेखि असारसम्म चल्ने पूर्णागिरि मेलाका क्रममा तीन महिनामै एक लाखभन्दा बढी दर्शनार्थीले सिद्धनाथ मन्दिरको दर्शन गर्ने गरेका छन्।

“दर्शनार्थीको आगमनले बजारमा चहलपहल बढे पनि पहिलेको जस्तो व्यापार भने छैन,” नायकले भने, “तर होटल र यातायात व्यवसायमा भने यो समय राम्रो आम्दानी हुने गरेको छ।”

यसैबीच, महेन्द्रनगरका अग्रज व्यवसायी प्रमोद जजोदियाले विगत एक दशकदेखि स्थानीय व्यापारी मिलेर नवरात्रिको अवसरमा मन्दिरमा आउने दर्शनार्थीका लागि निःशुल्क भण्डारा सञ्चालन गर्दै आएको जानकारी दिए।

“नवरात्रिका नौ दिन हामी निःशुल्क भोजन गराउँछौँ। दैनिक दुईदेखि नौ हजारसम्म दर्शनार्थीले भोजन गर्ने गरेका छन्,” उनले भने, “३०–४० जना व्यापारी मिलेर हरेक वर्ष पूर्णागिरि मेलाका बेला सिद्धनाथ मन्दिर छेउमै भण्डाराको व्यवस्था गर्दै आएका छौँ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट