Techie IT
२०८२ चैत्र १७, मंगलबार

कञ्चनपुरमा ‘लापसे’ विरुद्ध ट्राफिक प्रहरी कडा एक्सनमा, राजमार्गमा धमाधम कारबाही, २२ चालक पक्राउ


कञ्चनपुरका मुख्य राजमार्गमा सवारी दुर्घटना नियन्त्रण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले लागूपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकविरुद्ध कडाइ बढाएको छ।

प्रहरीले विशेष जाँच अभियान सञ्चालन गर्दै आएको छ। कार्यालयका प्रमुख प्रहरी निरीक्षक बालेन्द्र नाथका अनुसार गत कात्तिकदेखि हालसम्म २२ जना चालकलाई लागूपदार्थ सेवन गरेर सवारी चलाएको अभियोगमा कारबाही गरिएको छ।

सोमबार पूर्व-पश्चिम महेन्द्र राजमार्गमा गरिएको छड्के जाँचका क्रममा मात्रै चार जना चालक लागूपदार्थ सेवन गरेर सवारी चलाउँदै गरेको अवस्थामा फेला परेका छन्। स्वास्थ्य कार्यालय र महाकाली अस्पतालको प्राविधिक सहयोगमा गरिएको परीक्षणमा १६ मध्ये ४ जनामा लापसे पुष्टि भएको हो।

पक्राउ परेका चालकलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ।

प्रहरीका अनुसार लागूपदार्थ सेवन गरेर सवारी चलाउनु केवल ट्राफिक नियम उल्लङ्घन मात्र नभई गम्भीर अपराध हो, जसले सार्वजनिक सुरक्षामा प्रत्यक्ष खतरा पुर्‍याउँछ। परीक्षणका लागि ‘ड्रग डिटेक्सन किट’ प्रयोग गरिन्छ, जसमा चालकको ¥यालको नमुना लिएर तुरुन्तै नतिजा निकालिन्छ।

लापसे पुष्टि भएमा लागूऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइन्छ। यसअघि मादक पदार्थ सेवन (मापसे) मात्र जाँच हुने गरेकोमा अब चिकित्सकको निगरानीमा लागूपदार्थ परीक्षणसमेत सुरु भएपछि यस्ता चालक कानुनी दायरामा आउन थालेका छन्।

प्रहरीका अनुसार लागूपदार्थ सेवनले स्नायु प्रणालीमा असर पार्ने, निर्णय क्षमता कमजोर बनाउने, प्रतिक्रिया समय ढिलो गराउने र दृष्टिमा भ्रम सिर्जना गर्ने भएकाले दुर्घटनाको जोखिम अत्यधिक हुन्छ।

जिल्ला ट्राफिक प्रहरीले राजमार्गमा प्रत्येक महिना २-३ पटक लापसे जाँच र दैनिक साँझ मापसे परीक्षणलाई निरन्तरता दिँदै आएको छ। आगामी दिनमा पनि दुर्घटना न्यूनीकरण र लागूऔषध सेवन गरेर सवारी चलाउने प्रवृत्ति रोक्न यस्तो अभियान अझ सशक्त बनाइने जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट