वन क्षेत्र हटाउने निहुँमा सर्वसाधारणको सम्पत्तिमाथि क्षति, कैलाली प्रहरीले थाल्यो छानबिन
कैलालीको गोदावरी नगरपालिका–४, बासपानीकी धनादेवी धामीको परिवार पाल्ने एकमात्र सहारा थियो, एउटा पुरानो टेम्पो। तर, डिभिजन वन कार्यालय धनगढीको टोलीले उक्त टेम्पो भीरबाट खसालिदिएपछि अहिले उनको परिवारको जीविकोपार्जनको माध्यम नै खोसिएको छ।
धनादेवीका अनुसार गाईमारेडाँडास्थित सडकछेउमा राखिएको उनको 'जीएसए' टेम्पोबाट वन कर्मचारीहरूले सामान झिकेर सिधै भीरतर्फ गुडाइदिएका थिए। भीरबाट खसालिएका कारण टेम्पो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ र धामी परिवारको आयआर्जनको मुख्य स्रोत बन्द भएको छ।
"सामान झार्नुभयो, गाडी हामी आफैँ घर लैजान्छौँ भन्दाभन्दै पनि उहाँहरूले सुन्नुभएन," धामीले रुँदै गुनासो गरिन्, "टेम्पो कामै नलाग्ने गरी बिग्रिएपछि अहिले परिवारको दैनिकी नै संकटमा परेको छ।"
डिभिजन वन कार्यालय धनगढीले भने वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत उक्त क्षेत्रमा रहेका ४७ वटा अवैध संरचना हटाइएको जनाएको छ। तर, स्थानीयवासीले भने कानुन कार्यान्वयनका नाममा सर्वसाधारणको सम्पत्तिमाथि जानाजानी क्षति पुर्याइएको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
पीडित धनादेवीले राज्यका निकायको यो अमानवीय कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएकी छन्। "यदि मैले गल्ती नै गरेकी थिएँ भने पनि कानुनी प्रक्रिया अनुसार कारबाही हुनुपर्थ्यो," उनले भनिन्, तर मेरो परिवारको रोजीरोटीको आधार नै यसरी नष्ट गर्ने अधिकार कसले दियो?
यता डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी जीवछ यादवले भने पटक–पटक हटाउन आग्रह गर्दा पनि अटेर गरिएकाले बाध्य भएर कारबाही गरिएको दाबी गरे। "त्यो चलाउनेभन्दा पनि व्यापार गर्न राखिएको अटो (टहरो जस्तो) थियो। हामीले पटक–पटक हटाउन भन्यौँ, तर उहाँहरूले मान्नुभएन," यादवले जिकिर गरे।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी आलोचना भइरहेको छ। यसैबिच जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (SP) नरेन्द्र चन्दले घटनाबारे आधिकारिक छानबिन सुरु गरिएको जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस