धनगढीमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी युवतीको मृत्यु
धनगढीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक युवतीको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ निवासी ३५ वर्षीया ज्योति चौधरी छिन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश बिष्टका अनुसार चौधरीले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। घटनालगत्तै आफन्तले उद्धार गरी उनलाई सेती प्रादेशिक अस्पताल पुर्याएका थिए। उपचारका क्रममा उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन्।
सेती प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि गम्भीर अवस्थाकी चौधरीलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज लैजाने तयारी गरिए पनि आफन्तले काठमाडौँ लैजाने निर्णय गरेका थिए। तर, काठमाडौँ ल्याउँदै गर्दा सोमबार बिहान ७ बजेतिर धादिङ पुग्दा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए।
मृतकको शव कैलाली फिर्ता ल्याउने प्रक्रिया अघि बढाउनुका साथै घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस