धनगढीको फूलबारी सडकखण्डमा दुर्घटना, स्कुटर चालिकाको मृत्यु
कैलालीको धनगढीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक बिहीबार साँझ करिब ७ बजे उक्त दुर्घटना भएको हो। धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२–००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा जुधेका थिए।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमको उपचारका क्रममा मृत्यु भएको छ। उनको शुक्रबार बिहान २:२६ बजे धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१४ का २६ वर्षीय प्रवीण चौधरी, उनकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र ७ वर्षीया छोरी ममता चौधरी घाइते भएका छन्। यस्तै, स्कुटरको पछाडि सवार धनगढी–५ तारानगरका २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बबिता मल्ल पनि घाइते भएका छन्।
प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस