भोलि बिहानै बजेट पेस गर्ने तयारीमा सुदूरपश्चिम सरकार
केही दिनदेखि 'आज-भोलि' भन्दै लम्बिँदै आएको सुदूरपश्चिम प्रदेश सरकारको बजेट अन्ततः भोलि (आइतबार) आउने निश्चित भएको छ। सरकारमा सहभागी मन्त्रीहरूबीचको लामो रस्साकस्सी र असमझदारीका कारण रोकिएको बजेट आइतबार प्रदेशसभामा पेस हुन लागेको हो।
सत्तारूढ दलका सांसदहरूसँगको छलफलमा मुख्यमन्त्री खगराज भट्टले सबैका माग र भावना समेटेर उत्कृष्ट बजेट ल्याउन लागिएको दाबी गरेका छन्। मुख्यमन्त्री निवासमा शनिबार भएको छलफलमा उनले प्रदेशको विकास र समृद्धिलाई गति दिने गरी बजेट निर्माण गरिएको बताए।
माननीयज्यूहरूको माग सम्बोधन भएको छ, बजेट निकै राम्रो आउँछ । सांसदहरूलाई आश्वस्त पार्दै मुख्यमन्त्री भट्टले भने, “बजेटले प्रदेशलाई नयाँ गति दिनेछ, भोलि नै सभामा टेबल हुन्छ।”
यसअघि बजेट प्रस्तुत गर्ने कार्यसूचीसहित आज शनिबार बिहान ८ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक कार्यव्यवस्था र तयारी नपुगेको भन्दै दिउँसो ४ बजेका लागि सारिएको थियो। तर, अन्तिम समयसम्म पनि तयारी पूरा नभएपछि बैठक भोलि बिहान ९ बजेसम्मका लागि पुनः सारिएको सभामुख भीमबहादुर भण्डारीका प्रमुख स्वकीय सचिव परमानन्द चिमाडीले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस