Techie IT
२०८३ मंसिर १४, आइतबार

बालबालिकाको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशका सबै बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

सामुदायिक विकास केन्द्र (सीडीसी) द्वारा आयोजित ‘मुख्यमन्त्रीसँग बालबालिका : संवाद’ विषयक प्रश्नोत्तर तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले बालबालिकाले उठाएका सवाल र समस्यालाई सरकारले गम्भीरतापूर्वक लिने स्पष्ट पारे ।

कार्यक्रममा बादी, दलित, राजी, अपाङ्गता भएका तथा तराई र पहाडी क्षेत्रका बालबालिकाले आफ्ना समुदायमा भोग्दै आएका विभिन्न समस्या मुख्यमन्त्रीसमक्ष राखेका थिए । उनीहरूले पूर्ण खोप तथा नियमित स्वास्थ्य सेवाको अभाव, पोषणयुक्त खानाको कमी, जातीय विभेद, बालविवाह, बालश्रम, बाल यौन शोषण, लागुऔषध दुर्व्यसन, सुरक्षित खानेपानीको अभाव, अपाङ्गतामैत्री संरचनाको कमी तथा गुणस्तरीय र प्रविधिमैत्री शिक्षाको पहुँचजस्ता विषयमा जिज्ञासा राखेका थिए ।

बालबालिकाका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री भट्टले बालबालिकालाई भविष्यका कर्णधारका रूपमा मात्र नभई वर्तमानका सचेत नागरिक र परिवर्तनका साझेदारका रूपमा स्वीकार गर्नुपर्ने बताए । उनीहरूको आवाज नीति निर्माण र विकासका काममा समेटिनुपर्नेमा जोड दिँदै उनले बादी, दलित, राजी तथा अन्य सीमान्तकृत समुदायका बालबालिकाको समस्या समाधानका लागि सम्बन्धित मन्त्रालय, स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरिने जानकारी दिए । अपाङ्गता भएका बालबालिकाका लागि पहुँचयुक्त संरचना, सहायक प्रविधि र समावेशी शिक्षाको व्यवस्था गर्न आवश्यक पहल गरिने उनले उल्लेख गरे ।

बालविवाह, बालश्रम, जातीय विभेद, बाल हिंसा तथा यौन शोषणजस्ता समस्या न्यूनीकरण गर्न सचेतना, प्रभावकारी अनुगमन र कानुन कार्यान्वयनमा जोड दिनुपर्ने भट्टको भनाइ थियो । “हामीले सडक, पुल र भवन निर्माणलाई मात्र विकास ठान्नु हुँदैन,” मुख्यमन्त्री भट्टले भने, “बालबालिकाले पोषणयुक्त खाना खान पाउनु, गुणस्तरीय शिक्षा प्राप्त गर्नु, सुरक्षित वातावरणमा हुर्कन पाउनु, विभेदरहित समाजमा बाँच्न पाउनु र आफ्नो क्षमता प्रदर्शन गर्न पाउनु नै वास्तविक विकास हो ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट