Techie IT
२०८२ फागुन २७, बुधबार

प्रशंसा खोज्ने शासक मानसिकता लोकतन्त्रविरोधी हो - लेखक रतन भण्डारी


लेखक रतन भण्डारीले अहिले आलोचना नसहने र आफ्नो प्रशंसामात्र सुन्न र पढ्न चाहनेहरु प्रति तिखो टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भने- स्वतन्त्र नागरिकले शासक, प्रशासक, दलीय रूपमा भ्रष्ट भएका नेता तथा तिनका कार्यकर्ता, राज्यका विभिन्न निकायमा बसेकाहरू वा सेवानिवृत्त पेन्सनधारीहरूले अरूलाई पनि आफ्नै सुरमा सुर मिलाएर प्रशंसा गर्नुपर्छ भन्ने सोच्नु आफैंमा गम्भीर दृष्टिदोष हो।

कसैले काँग्रेसको आलोचना गर्‍यो भने ऊ माओवादी भयो भन्ने ठान्नु, एमालेको कमजोरी औँल्यायो भने समाजवादी ठान्नु, राजावादीले बोले राजावादी नै देख्नु, रास्वपाको पक्ष–विपक्ष गरे रास्वपाकै भनेर लेबल लगाउनु, तराईका मुद्दा उठाउनेलाई तराईवादी करार गर्नु-यी सबै लोकतान्त्रिक चेतनाका लागि खतरनाक संकेत हुन्। अझ स्वतन्त्र भनिने व्यक्तिका समर्थकहरूलाई समेत कुनै न कुनै दलको झोला बोकेको ठान्नु त झन् गम्भीर भूल हो।

सार्वजनिक सरोकारका विषय उठाउनु, राज्य संयन्त्रका गलत कामको आलोचना गर्नु, भ्रष्ट नेता तथा तिनका कार्यकर्ताले राज्यकोषमाथि मच्चाएको लूटको विरोध गर्नु, वा नोकरशाहहरूले पदमा रहँदा गरेका कमजोरीबारे नागरिकलाई सचेत गराउनु शत्रुता होइन । यो लोकतन्त्रमा नागरिकको कर्तव्य हो। यस्ता काम गर्नेहरूलाई शत्रु देख्ने प्रवृत्ति निन्दनीय मात्र होइन, खतरनाक पनि हो।

त्यसैले, आफू आबद्ध रहेको स्थानको प्रशंसा आफैं गरौँ, तर अरूलाई जबर्जस्ती त्यसैमा तान्ने प्रयास नगरौँ। बिहान एउटा र बेलुका अर्को कुरा गर्दै आज यो र भोलि त्यो पार्टीमा कुद्ने दलबदलु प्रवृत्तिबाट पनि सजग रहौँ।

लेखक भण्डारीले अरूको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्दा लोकतन्त्र बलियो हुने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट