Techie IT
२०८२ श्रावण ३०, शुक्रबार

भारतमा १५ अगस्तमा स्वतन्त्रता दिवस मनाउँदा गोवामा भने १९ डिसेम्बरमा मनाउँछ, किन ? जान्नुहोस्


भारतमा हरेक वर्ष १५ अगस्टका दिन स्वतन्त्रता दिवस देशभर धूमधामका साथ मनाइन्छ। पाकिस्तानले भने हिजै अर्थात् १४ अगस्टमा आफ्नो स्वतन्त्रता दिवस मनाएको थियो। भारत आज स्वतन्त्रताको उत्सवमा रमाइरहेको छ, तर गोवाको स्वतन्त्रताको कथा भने अलि फरक छ।

गोवा १५ अगस्ट १९४७ मा स्वतन्त्र भएको थिएन। भारत ब्रिटिश औपनिवेशिक शासनबाट मुक्त भएपछि पनि गोवा अझै १४ वर्षसम्म पोर्चुगाली शासनमै थियो। यसको ऐतिहासिक कारण १६ औं शताब्दीको सुरुवातसम्म पुग्छ।

सन् १५१० देखि गोवामा पोर्चुगालको उपनिवेश स्थापना भएको थियो। अंग्रेजहरूले भारतमा १६०० आसपास पाइला टेकेका भए पनि उनीहरूभन्दा करिब एक शताब्दी अगाडि पोर्चुगालीहरू गोवामा शासन गर्न थालेका थिए। १९४७ मा भारत स्वतन्त्र भए पनि पोर्चुगालीहरूले गोवा हस्तान्तरण गर्न अस्वीकार गरे। त्यसैले १५ अगस्ट १९४७ को मध्यरातमा भारतका अन्य राज्यहरू स्वतन्त्र भए पनि गोवा अझै उपनिवेशमै बाँकी रह्यो।

१९ औं शताब्दीदेखि नै गोवामा विद्रोह र विरोधका स्वर सुनिन थालेका थिए, तर भारतको स्वतन्त्रता आन्दोलनजस्तो एकजुट प्रतिरोध त्यहाँ देखिएको थिएन। स्वतन्त्रता प्राप्तिपछि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले गोवा पनि भारतसँग गाभ्ने उद्देश्यका साथ पोर्चुगालसँग वार्ता गर्ने प्रयास गरेका थिए। तर, वार्ता बारम्बार असफल भएपछि भारतले सैन्य कारबाहीको तयारी गर्‍यो।

१८ डिसेम्बर १९६१ मा भारतीय थल, जल र वायु सेनाले संयुक्त रूपमा ‘अपरेशन विजय’ सञ्चालन गरे। त्यतिबेला गोवामा करिब ३,३०० पोर्चुगाली सैनिक मात्र थिए। तीव्र कारबाहीपछि पोर्चुगाली सेनाले आत्मसमर्पण गर्‍यो। गोवाका गभर्नर जनरल म्यानुएल एन्टोनियो भासालो ई सिल्भाले सचिवालय अगाडिको पोर्चुगाली झण्डा हटाएर सेतो झण्डा फहराउँदै आत्मसमर्पणको संकेत दिए।

१९ डिसेम्बर १९६१ को बिहान मेजर जनरल क्यान्डेथले सचिवालय अगाडि भारतीय राष्ट्रिय झण्डा फहराए। यो अपरेशनमा सात जना भारतीय नौसेना जवानसहित केही अन्य सुरक्षाकर्मीले प्राण आहुति दिएका थिए। उनीहरूको सम्झनामा भारतीय नौसेना जहाज गोमन्तकमा युद्ध स्मारक निर्माण गरिएको छ।

१९ डिसेम्बरलाई आज पनि गोवा मुक्ति दिवसका रूपमा उत्साहका साथ मनाइन्छ, जसले केवल गोवाको पोर्चुगाली शासनबाट मुक्ति मात्र होइन, भारतको भौगोलिक र राष्ट्रिय एकताको पूर्णता पनि सम्झाउँछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट