ट्रम्पको सर्त : युक्रेनले नेटो प्रवेश त्याग्ने र क्रिमिया छाडे मात्र युद्ध अन्त्य हुने
अमेरिकी दूत स्टीभ विट्कोफले पुटिनले पनि युक्रेनका लागि ‘गेम–चेन्जिङ’ सुरक्षा ग्यारेन्टीमा सहमति जनाएको दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस युद्ध अन्त्य गर्नका लागि युक्रेनले रुसका सर्त मान्नुपर्ने बताएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेट अघि ट्रम्पले युक्रेन नेटोमा सामेल नहुने र क्रिमिया प्रायद्वीप फिर्ता नलिने सर्त अघि सारेका हुन्।
“यदि उनी (जेलेन्स्की) चाहन्छन् भने तुरुन्तै युद्ध अन्त्य गर्न सक्छन्,” ट्रम्पले भनेका छन्। ह्वाइट हाउसमा जेलेन्स्कीलाई भेट्नुअघि ट्रम्पले क्रिमिया पनि फिर्ता नपाउने बताएका बीबीसीले जनाएको छ।
मस्कोले सन् २०१४ मा क्रिमिया कब्जा गरेको थियो भने सन् २०२२ देखि युक्रेनमाथि पुनः आक्रमण सुरु गरेको हो। अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर बैठकपछि ट्रम्पले जेलेन्स्कीलाई अमेरिका निम्त्याउँदै युद्धविरामभन्दा स्थायी शान्ति सम्झौताका लागि आह्वान गरेका हुन्।
युक्रेनले भने यी दुवै सर्त मान्न नसकिने स्पष्ट पारेको छ। नेटो प्रवेश आफ्नो सार्वभौमिक अधिकार भएको भन्दै युक्रेनले ट्रम्पको प्रस्तावमा असहमति जनाएको छ।
जेलेन्स्की आइतबार अमेरिका पुगेपछि सहयोगी राष्ट्रहरूसँग प्रभावकारी सुरक्षा ग्यारेन्टीको माग दोहोर्याएका छन्। अमेरिकी कूटनीतिज्ञहरूले पुटिन समेत युक्रेनका लागि नेटो-जस्तो तर फरक सुरक्षा सम्झौतामा तयार हुनसक्ने संकेत दिएका छन्।
ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै भनेका छन्, “युक्रेनका राष्ट्रपति जेलेन्स्कीले चाहे युद्ध तुरुन्तै अन्त्य गर्न सक्छन्। सम्झनुहोस्, १२ वर्षअघि ओबामाको पालामा कुनै गोली नचलाई क्रिमिया गुमाइएको थियो। र युक्रेन कहिल्यै नेटोमा जान पाउने छैन।”
यसैबीच, नेटोका महासचिव मार्क रुटेसहित बेलायत, फ्रान्स, जर्मनी, इटाली, फिनल्यान्ड र युरोपेली संघका शीर्ष नेताहरू पनि जेलेन्स्कीको पक्षमा समर्थन जनाउँदै आएका छन्। तर, उनीहरू सबै ट्रम्प–जेलेन्स्की वार्ताका लागि वाशिङ्टन पुग्ने वा नपुग्ने स्पष्ट छैन।
जेलेन्स्कीले सामाजिक सञ्जाल ‘एक्स’मा ट्रम्पको निमन्त्रणा स्वीकार गर्दै आभार व्यक्त गरेका छन्। उनले भनेका छन्, “हामी सबै यो युद्धलाई छिटो र भरपर्दो रूपमा अन्त्य गर्न चाहन्छौं।”
सन् १९९४ मा पाइएको तथाकथित सुरक्षा ग्यारेन्टी काम नगरेको अनुभव गरेका जेलेन्स्कीले यसपटक प्रभावकारी सुरक्षा प्रत्याभूति चाहेको बताएका छन् ।
तर, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने ट्रम्पले जेलेन्स्कीलाई शान्ति सम्झौता स्वीकार गर्न दबाब नदिएको र यसलाई “मिडियाले बनाएको कथा” मात्र भनेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार रुसले हालसम्म युक्रेनको करिब पाँच भागमध्ये एक भाग कब्जा गरिसकेको छ।
यसैबीच, ‘कोएलिसन अफ द विलिङ’ गठबन्धनका सदस्य राष्ट्रहरूले युक्रेनमा शान्ति कायम भएपछि उसको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्। अमेरिकी दूत स्टीभ विट्कोफले पुटिनले पनि युक्रेनका लागि ‘गेम–चेन्जिङ’ सुरक्षा ग्यारेन्टीमा सहमति जनाएको दाबी गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस