Techie IT
२०८२ भाद्र २, सोमबार

तीन वर्षपछि भारत जाँदै चिनियाँ विदेशमन्त्री, सीमा विवाद समाधानमा केन्द्रित वार्ता हुनेे


चीन र भारतबीच सीमा विवाद समाधान तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणका लागि नयाँ चरणको उच्चस्तरीय कूटनीतिक पहल सुरु हुने भएको छ । यसै उद्देश्यसहित चीनका विदेशमन्त्री वाङ यी सोमबारदेखि तीनदिने भारत भ्रमणमा जान लागेका हुन् । करिब तीन वर्षपछि उनले भारत भ्रमण गर्न लागेका हुन्।

चिनियाँ विदेश मन्त्रालयका अनुसार वाङ यी चीन–भारत सीमा प्रश्नका लागि विशेष प्रतिनिधि समेत भएकाले उनले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलसँग संयुक्त रूपमा सीमा प्रश्नसम्बन्धी विशेष प्रतिनिधिहरूको २४औँ चरणको वार्तामा सह-अध्यक्षता गर्नेछन् ।

यो बैठक सन् २०२० मा भएको सीमा झडपपछि दोस्रो उच्चस्तरीय संवाद हो। गत डिसेम्बरमा बीजिङमा सम्पन्न २३औँ चरणमा दुवै देशबीच सीमा व्यवस्थापन बलियो बनाउने, सीमान्त क्षेत्रमा सहयोग बढाउने लगायतका विषयमा छबुँदे सहमति भएको थियो।

ब्लूमबर्गले उद्धृत गरेका स्रोतअनुसार आसन्न वार्ता विवादित सीमा क्षेत्रमा तैनाथ सैनिक संख्यामा कटौती गर्ने सम्भावनामा केन्द्रित हुनसक्छ । यसले दुई देशबीच विश्वास पुनःस्थापित गर्न महत्वपूर्ण संकेत गर्ने अपेक्षा गरिएको छ ।

गत अक्टोबरमा रसियाको कजानमा दुवै देशका नेताबीच भएको भेटपछि चीन–भारतबीच विभिन्न स्तरमा नियमित सम्पर्क भइरहेका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “दुवै देशका नेताबीच भएका साझा समझदारीलाई कार्यान्वयन गर्न, उच्चस्तरीय सम्पर्कलाई निरन्तरता दिन, आपसी विश्वास सुदृढ बनाउन, व्यावहारिक सहयोग विस्तार गर्न र मतभेदलाई व्यवस्थापन गर्न चीन भारतसँग सहकार्य गर्न तयार छ।”

यस वर्ष चीन–भारत कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्ष हो । यसै सन्दर्भमा जूनमा वाङ यीले बीजिङमा डोभलसँग र जुलाईमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका थिए। दुबै पक्षले अवसरलाई प्रयोग गर्दै द्विपक्षीय सहयोग विस्तार गर्ने र सीमा क्षेत्रमा शान्ति कायम राख्ने इच्छा व्यक्त गरेका थिए।

हालैका महिनामा दुवै देशबीच व्यापार, आर्थिक र सांस्कृतिक क्षेत्रमा केही प्रगति भएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले तोकिएका तीन सीमा नाकामार्फत व्यापार पुनः सुरु गर्ने तयारी भइरहेको बताए ।

त्यस्तै, कोभिड–१९ महामारीपछि स्थगित हवाई उडान चाँडै पुनः सुरु गर्ने तयारी छ, जसको घोषणा आगामी अगस्त अन्त्यमा चीनको तिआन्जिनमा हुने शाङ्घाई सहयोग संगठन (SCO) शिखर सम्मेलनमा हुन सक्ने जनाइएको छ।

यसै वर्ष चीनले भारतीय तीर्थयात्रीलाई तिब्बत भ्रमण गर्न अनुमति दिएको थियो भने भारतले पनि जुलाईदेखि चिनियाँ नागरिकलाई पर्यटक भिसा दिन थालेको छ।

विशेषज्ञहरूले विश्वमा बढ्दो संरक्षणवाद र एकतर्फी नीतिका बीच चीन र भारतले बहुपक्षीय संयन्त्रमार्फत सहकार्य गर्दै सम्बन्ध सुधार्ने अवसर प्रयोग गर्नुपर्ने सुझाव दिएका छन्।

फुदान विश्वविद्यालयका प्राध्यापक लिन मिन्वाङका अनुसार, "यो उच्चस्तरीय वार्ता चीन–भारत सम्बन्ध सुधारतर्फ लागेको संकेत हो। सीमा तनाव कम भए व्यापार, लगानी र सांस्कृतिक सहकार्यका नयाँ अवसर खुल्नेछन्।”

तर उनीहरूका अनुसार अझै असम्झदारी कायम छ, त्यसैले दुवै छिमेकी राष्ट्रले द्विपक्षीय र बहुपक्षीय संयन्त्रहरूमा घनिष्ठ सहकार्य गर्दै सम्बन्धलाई दीर्घकालीन र रचनात्मक दिशातर्फ अघि बढाउनुपर्ने आवश्यकता छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट