उद्योगपति रतन टाटाको अन्त्येष्टिमा श्रद्धाञ्जलि दिनेको मुम्बईमा भीड
मुम्बई – उद्योगपति रतन टाटाको अन्त्येष्टिका लागि बिहीबार मुम्बईमा श्रद्धाञ्जलि दिनेको भीड लागेको छ। बुधबार ८६ वर्षको उमेरमा निधन भएका टाटाले टाटा समूहलाई विश्वव्यापी स्तरमा सफ्टवेयरदेखि स्पोर्ट्स कारसम्मका विभिन्न उद्यममा रूपान्तरण गरेका थिए। मुम्बईले टाटाको निधनमा एक दिन शोक घोषणा गरेको छ।
भारतीय राष्ट्रिय दैनिक ‘द हिन्दू’ले उनलाई ‘भारतीय उद्योगको एक टाइटन’ भन्दै श्रद्धाञ्जलि अर्पण गरेको छ, भने ‘हिन्दुस्तान टाइम्स’ले टाटाको निधनबाट “भारतले आफ्नो मुकुटको गहना गुमाएको” उल्लेख गरेको छ। एशियाका धनी उद्योगपति मुकेश अम्बानीले टाटाको निधनलाई भारत र टाटा समूहकै लागि ठूलो क्षति बताउनुभएको छ।
रतन टाटाको जन्म १९३७ मा मुम्बईमा पारसी समुदायमा भएको थियो। अध्ययनको लागि न्युयोर्कको कर्नेल युनिभर्सिटी गएका टाटा सन् १९६२ मा हजुरआमाको आग्रहमा भारत फर्किएर टाटा समूहमा संलग्न हुनुभएको थियो। १९९१ मा समूहको नेतृत्व सम्हाल्दै भारतको आर्थिक सुधारमा सक्रिय भूमिका निभाउनुभएको थियो।
सन् २००८ मा घाटामा रहेका जगुआर र ल्यान्ड रोभर ब्रान्डहरू किनेर तीलाई पुनः सफल बनाएका टाटा समाजसेवामा पनि निकै संलग्न थिए। टाटा समूहका अनुसार स्वास्थ्य, शिक्षा, र अन्य सामाजिक क्षेत्रमा उहाँको परोपकारी कामले लाखौंको जीवनमा प्रभाव पारेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टाटालाई ‘दूरदर्शी व्यवसायी र दयालु आत्मा’ को संज्ञा दिँदै उनको स्थिर नेतृत्वलाई सराहना गर्नुभएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस