ट्रम्पले भने रूसलाई ‘कागजी बाघ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई ‘कागजी बाघ’ को संज्ञा दिँदै युक्रेनले युद्धमा गुमाएको भूमि फिर्ता लिन सक्ने बताएका छन् । ट्रम्पको यस भनाइलाई उनको रूस–युक्रेन युद्धसम्बन्धी धारणा परिवर्तनको रूपमा हेरिएको छ ।
सामाजिक सञ्जाल ट्रुथ सोसल मा पोस्ट गर्दै उनले युरोप र नेटोको समर्थन तथा रूसको अर्थतन्त्रमा परेको दबाबका कारण युक्रेनले युद्ध सुरु भएको प्रमुख सीमा फिर्ता पाउन सक्ने बताएका हुन् । “युक्रेन र रूसको सैन्य तथा आर्थिक स्थिति बुझिसकेपछि मेरो सोच बदलिएको हो,” ट्रम्पले लेखेका छन् ।
रूसलाई ‘कागजी बाघ’को उपमा दिँदै उनले थपे, “पुटिन र रूस ठूलो आर्थिक समस्यामा छन्, यो युक्रेनले उचित कदम चाल्ने समय हो।” ट्रम्पको यो टिप्पणी युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग न्यूयोर्कमा संयुक्त राष्ट्र महासभापछि भएको भेटवार्तापश्चात गरेका हुन् ।
यसअघि ट्रम्पले युद्धविराम वा सम्झौता सम्भव बनाउन युक्रेनले आफ्नो केही भूमि छोड्नुपर्ने हुन सक्ने धारणा व्यक्त गरेका थिए ।
ट्रम्पको नयाँ अभिव्यक्तिपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले त्यसलाई ‘ठूलो परिवर्तन’ भन्दै स्वागत गरेका छन् । संयुक्त राष्ट्रसंघमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “अब अमेरिका युद्ध समाप्तिपछि युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिन तयार भएको देखिन्छ।” तर, सो सुरक्षा कस्तो स्वरूपमा हुनेछ भन्ने प्रश्नमा उनले स्पष्ट जानकारी नभएको बताएका थिए । यद्यपि, उनले युक्रेनलाई थप हतियार, हवाई सुरक्षा प्रणाली र ड्रोन उपलब्ध हुनसक्ने सम्भावनाको उल्लेख गरेका छन् ।
फक्स न्युजसँगको अन्तर्वार्तामा जेलेन्स्कीले ट्रम्पले ट्रुथ सोसलमा लेखेको पोस्ट देखेर आफू अचम्मित भएको जनाए । उनले यसलाई “ट्रम्प र अमेरिका युद्धको अन्त्यसम्म युक्रेनसँगै रहने सकारात्मक संकेत” का रूपमा अर्थ्याए ।
जेलेन्स्कीले थप भने, “मलाई लाग्छ, पुटिनले राष्ट्रपति ट्रम्पलाई धेरै पटक झूट बोलेको कुराले पनि यसमा प्रभाव पारेको छ ।” यसअघि मंगलबार, संयुक्त राष्ट्र महासभामा सम्बोधनपछि ट्रम्पले नेटो देशहरूले आफ्नो हवाई सीमामा प्रवेश गर्ने रूसी विमानहरू खसाल्नुपर्ने बताएका थिए । पछिल्लो समय नेटो सदस्य राष्ट्रहरूको हवाई सीमामा रूसी लडाकु विमान र ड्रोनहरू देखिँदै आएको सन्दर्भमा उनले यस्तो चेतावनी दिएका हुन् ।
तपाईको प्रतिक्रिया दिनुहोस