तालिबानद्वारा अफगानिस्तानमा देशभर टेलिकम सेवा बन्द
तालिबानले अफगानिस्तानमा देशभर टेलिकम सेवाहरू बन्द गराएको छ। केही हप्ताअघि नै ‘अनैतिक गतिविधि रोक्ने’ नाममा फाइबर–अप्टिक इन्टरनेट जडान काट्न सुरु गरिएको थियो।
इन्टरनेट निगरानी संस्था नेटब्लक्स का अनुसार अफगानिस्तान हाल पूर्ण रूपमा कनेक्टिभिटी ब्ल्याकआउट को अवस्थामा पुगेको छ। राजधानी काबुलमा रहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमका कार्यालयहरूसँग सम्पर्क विच्छेद भएको एएफपी लगायतका समाचार एजेन्सीहरूले जनाएका छन्।
मोबाइल फोन सेवासमेत ठप्प भएको र मोबाइल इन्टरनेट तथा स्याटेलाइट टेलिभिजनमा गम्भीर असर परेको बताइएको छ। २०२१ मा सत्ता कब्जा गरेयता तालिबानले इस्लामिक शरिया कानुनअनुसार कठोर प्रतिबन्धहरू लागू गर्दै आएको छ।
फाइबर–अप्टिक केबलहरू अत्यन्त छिटो डेटा स्थानान्तरण गर्ने प्रमुख माध्यम भएकाले इन्टरनेट सञ्जाल पूरै प्रभावित भएको हो।
अफगान समाचार च्यानल वान टिभी का पूर्वप्रधान सम्पादक हमिद हैदरीले देश अब पूर्ण रूपमा इन्टरनेट कटअफमा परेको उल्लेख गर्दै, “अफगानिस्तानले आधिकारिक रूपमा उत्तर कोरियालाई समेत उछिनेको छ,” भनेका छन्।
यसैबीच, काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरूमा समेत अवरोध उत्पन्न भएको छ। मंगलबार बिहान मात्रै त्यहाँबाट हुने वा त्यहाँ आइपुग्ने कम्तीमा आठ उडान रद्द भएको तथ्याङ्क फ्लाइटराडार २४ मा उल्लेख गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस