ट्रम्पले नोबेल शान्ति पुरस्कार नपाएपछि भने - मैले नोबेलका लागि युद्ध अन्त्य गरेको होइन

नोबेल शान्ति पुरस्कार नपाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि प्रतिक्रिया दिएका छन्। सोमबार व्हाइट हाउसले सार्वजनिक गरेको अडियो क्लिपमा ट्रम्पले भने, “मैले अहिलेसम्म आठवटा युद्ध रोकेको छु। यो गर्न पाउनु गर्वको कुरा हो। मैले लाखौं जनताको ज्यान बचाएको छु।”
ट्रम्पले अझ थपे, “हालै दिइएको नोबेल शान्ति पुरस्कार २०२४ का लागि चयन गरिएको थियो। केहीले म उक्त पुरस्कारको अपवाद हुनसक्ने बताए, किनभने मैले रोकेका युद्धहरू अधिकांश यसै वर्ष २०२५ का घटनाक्रमसँग सम्बन्धित हुन्। तर मैले यो नोबेलका लागि होइन, मानिसको जीवन बचाउनका लागि गरेको हुँ।”
ट्रम्पले पाकिस्तान र अफगानिस्तानबीचको द्वन्द टुंग्याउन सक्ने दाबी पनि गरेका छन्। उनले भने, “मैले सुने पाकिस्तान र अफगानिस्तानबीच पनि युद्ध चलिरहेको छ। मैले भनेको छु, उनीहरूले म फर्केर आउन्जेल पर्खनुपर्छ, किनकि म युद्ध सुल्झाउन माहिर छु।”
ट्रम्प हाल गाजा युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत इजरायल पुगेका छन्। त्यहाँबाट उनी इजिप्ट जाने छन् र इजिप्टमा गाजा युद्ध अन्त्य गर्ने समझदारीबारे छलफल हुने बताइएको छ।
इजरायलमा ट्रम्पले हमासले बन्दी बनाइएका कैदीलाई मुक्त गर्न सञ्चालन गरिने विशेष समारोहमा सहभागी हुने भएका छन्। हालै भएको युद्धविराम सम्झौताअनुसार गाजाबाट बन्धकहरूलाई मुक्त गर्ने प्रक्रियालाई औपचारिक रूपमा कार्यान्वयन गर्न आयोजित समारोहमा उनी भाग लिन इजरायल प्रस्थान गरेका हुन्। सोमबार नै उनी इजरायली संसदमा सम्बोधन गर्ने कार्यक्रम थियो।
समाचार संस्था रोयटर्सका रिपोर्टअनुसार शर्म अल–शेखमा हुने सम्मेलनमा ट्रम्पसहित करिब २० देशका नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ। मिडिया रिपोर्टअनुसार अमेरिकाले स्पेन, जापान, अजरबैजान, आर्मेनिया, हङ्गेरी, एल साल्भाडोर, साइप्रस, ग्रीस, बहरेन, कुवेत, क्यानडा लगायतका देशहरूलाई निमन्त्रणा पठाएको जनाएको छ। इरानलाई पनि आमन्त्रित गरिएको भनिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ पनि सोमबार इजिप्टमा हुने सम्मेलनमा सहभागी हुनेछन्।
इजिप्टको विदेश मन्त्रालयका अनुसार उक्त सम्मेलनमा ‘गाजा युद्ध अन्त्य गर्ने कागजात’ मा हस्ताक्षर गरिनेछ।
गाजा युद्धविराम सम्झौताअनुसार इजरायली सेनाले पहिलो चरणमा गाजाबाट फिर्ती सुरु गर्नेछ। यसको बदलामा हमासले ४८ जना इजरायली बन्धक फिर्ता गर्नेछ जसमा २० जना जीवित र २८ शव समावेश छन्।
सम्झौताको कार्यान्वयनको क्रममा इजरायली सेनाले केही दिनभित्र प्रारम्भिक फिर्तीको काम पूरा गरेको र हमासलाई ७२ घण्टा समय दिइएको खबरमा उल्लेख छ। यो प्रक्रिया ट्रम्पले प्रस्तुत गरेको २० बुँदे युद्धविराम योजनाअन्तर्गत भइरहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस