अनलाइनबाट महसुल तिर्ने ग्राहकले पाउने भए थप छुट
नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल भुक्तानीमा डिजिटल माध्यमको प्रयोग बढाउन घरेलु ग्राहकलाई थप सहुलियत दिने निर्णय गरेको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले अनलाइनबाट महसुल तिर्ने घरेलु ग्राहकलाई पहिलो चरणमा ६ महिनासम्म थप ०.५० प्रतिशत स्मार्ट ‘पे रिवार्ड’ उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयले जनाएको छ। हाल मिटर रिडिङ भएको सात दिनभित्र महसुल बुझाउँदा पाइने २ प्रतिशत छुट यथावत राख्दै अनलाइनमार्फत जुनसुकै समयमा तिर्ने घरेलु ग्राहकले यो थप रिवार्ड पाउने भएका छन्।
प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा कुल ५९ लाख २७ हजार बढी ग्राहकमध्ये मासिक औसत १७ लाख ग्राहक मात्र अनलाइन प्रणालीमा आबद्ध छन्। कुल ग्राहकको ९१ प्रतिशत हिस्सा ओगट्ने घरेलु वर्गबाट मात्रै ३३ लाख ५२ हजारले काउन्टरबाट र १२ लाख ५० हजारले अनलाइनमार्फत महसुल तिरेका थिए।
हाल देशभर सञ्चालनमा रहेका ६५५ वटा संकलन काउन्टर र तिनमा खटिएका ९३२ कर्मचारीका लागि वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ प्रशासनिक खर्च हुँदै आएको छ।
डिजिटल भुक्तानीलाई प्राथमिकता दिएर काउन्टरको संख्या ६५५ बाट ३६७ मा झार्न सकिने र यसबाट वार्षिक करिब २६ करोड २९ लाख रुपैयाँ बचत हुने प्राधिकरणको अध्ययनले देखाएको छ।
घरेलु ग्राहकलाई ६ महिनासम्म रिवार्ड दिँदा करिब ११ करोड ७० लाख रुपैयाँ मात्र खर्च हुने भएकाले काउन्टर सञ्चालन खर्चको तुलनामा यो व्यवस्थापनयोग्य रहेको निष्कर्ष निकालिएको छ। पहिलो चरणमा लागु गरिएको यो रिवार्डको प्रभावकारिता हेरेर थप निर्णय लिइने प्राधिकरणले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस