Techie IT
२०८२ कार्तिक ४, मंगलबार

चीनका शीर्ष नेताहरूको बैठक : आगामी दशकका लक्ष्य र नयाँ पञ्चवर्षीय योजनाको दिशा निर्धारण


यस दशकको बाँकी अवधिका लागि देशका मुख्य लक्ष्य र योजनाहरू तय गर्न चीनका शीर्ष नेताहरू यस हप्ता बेइजिङमा बैठक बसिरहेका छन्।

हरेक वर्ष वा निश्चित अन्तरालमा, चीनको सबैभन्दा ठूलो राजनीतिक संस्था कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले एक हप्तासम्म चल्ने बैठक गर्छ, जसलाई ‘प्लेनम (Plenum)’ भनिन्छ।

यस बैठकमा लिइने निर्णयहरू चीनको आगामी पञ्चवर्षीय योजनाको आधार बन्नेछन् । यसले सन् २०२६ देखि २०३० सम्मका लागि विश्वको दोस्रो ठूलो अर्थतन्त्रको दिशा तय गर्नेछ।

देशको विकास योजनाको पूर्ण विवरण अर्को वर्ष सार्वजनिक हुने अपेक्षा छ, तर अधिकारीहरूले यसपटक बैठकपछि केही प्रारम्भिक संकेत दिने अनुमान गरिएको छ। सामान्यतया, यस्तो बैठक सम्पन्न भएको करिब एक हप्ताभित्र अधिकारीहरूले नीतिगत निर्णयबारे विस्तृत जानकारी सार्वजनिक गर्ने गर्छन्।

एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका चीन विशेषज्ञ नील थोमस भन्छन्, “पश्चिमी मुलुकका नीति चुनावमा निर्भर हुन्छन्, तर चीनको नीति निर्माण प्रक्रिया योजनाबद्ध ढङ्गले अघि बढ्छ।”

उनका अनुसार, पञ्चवर्षीय योजनाहरूले चीनले कुन दिशा लिन खोज्दैछ भन्ने संकेत गर्छन्, र स्रोतसाधन त्यसै दिशामा केन्द्रित गरिन्छ।

बाहिरबाट हेर्दा सयौँ अधिकारीहरू सुट लगाएर योजना बनाइरहेको दृश्य सामान्य लाग्न सक्छ, तर इतिहासले देखाएको छ की यी बैठकहरूमा लिइने निर्णयहरूले विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने गर्छ।

नीचे चीनका तीन ऐतिहासिक पञ्चवर्षीय योजनाहरूबारे उल्लेख गरिएको छ, जसले विश्व अर्थतन्त्रमा ठूला परिवर्तन ल्याए।

सन् १९८१–८४ : सुधार र खुला बजारको सुरुवात

चीनको आर्थिक उत्थान कहिले सुरु भयो भन्ने सटीक रूपमा भन्न कठिन भए पनि धेरैजना यसको सुरुवात १८ डिसेम्बर १९७८ का दिनबाट मानेका छन्।

तीन दशकसम्म कडा सरकारी नियन्त्रणमा रहेको अर्थतन्त्रले समृद्धि ल्याउन सकेको थिएन, र देश माओ त्सेतुङका विनाशकारी अभियानहरू ग्रेट लीप फरवार्ड र सांस्कृतिक क्रान्तिका घाउबाट उब्रीरहेको थियो।

त्यही बेला नयाँ नेता देङ सियाओपिङले बेइजिङमा ११औं केन्द्रीय समितिको तेस्रो प्लेनममा चीनले खुला बजारका केही सिद्धान्तहरू अपनाउनुपर्ने बताउँदै “सुधार र आर्थिक उदारीकरण” नीति अघि सारे।

यसअन्तर्गत सुरु भएको अर्को पञ्चवर्षीय योजना (१९८१–८५) मा विशेष आर्थिक क्षेत्रहरूको स्थापना र विदेशी लगानीको ढोका खोलियो। यसले लाखौँ चिनियाँको जीवनस्तर परिवर्तन गर्‍यो।

नील थोमसका अनुसार, “सन् १९७० को दशकका मानिसहरूको कल्पनाभन्दा धेरै अगाडि चीन पुगिसकेको छ । राष्ट्रिय गौरव पुनर्स्थापित गर्दै विश्वका ठूला शक्तिहरूमा आफ्नो स्थान बनाएको छ।”

तर यस परिवर्तनले पश्चिमी अर्थतन्त्रमा पनि ठूला हलचल ल्यायो। २१औं शताब्दीसम्म पुग्दा लाखौँ रोजगारी पश्चिमी देशहरूबाट चीनका तटीय कारखानाहरूमा सरेका छन् ।

अर्थशास्त्रीहरूले यसलाई ‘चाइना शक (China Shock)’ भन्छन् — जसले युरोप र अमेरिकामा जनवादी पार्टीहरूको उदयका लागि आर्थिक पृष्ठभूमि तयार गर्‍यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार युद्ध र ट्यारिफ नीतिहरू यही सन्दर्भको प्रतिक्रिया हुन्।

सन् २०११–१५ : रणनीतिक रूपमा उदीयमान उद्योगहरूको उदय

सन् २००१ मा चीन विश्व व्यापार सङ्गठन (WTO)मा सामेल भएपछि उसले ‘विश्वको कारखाना’को दर्जा अझै बलियो बनायो।

तर पार्टी नेतृत्वले चाँडै बुझ्यो— सस्तो श्रममा आधारित अर्थतन्त्र दीर्घकालीन हुन सक्दैन। त्यसैले नयाँ अवधारणाका रूपमा सन् २०१० मा “रणनीतिक रूपमा उदीयमान उद्योगहरू (Strategic Emerging Industries)” शब्द औपचारिक रूपमा प्रयोगमा आयो।

चीनले हरित प्रविधि, विद्युतीय सवारी साधन (EV) र सौर्य उर्जा क्षेत्रमा भारी लगानी गर्न थाल्यो। पश्चिममा जलवायु परिवर्तन राजनीतिक मुद्दा बन्नुअघि नै चीनले यस क्षेत्रमा दीर्घकालीन रणनीति तयार गरेको थियो।

आज चीन नवीकरणीय ऊर्जामा मात्र होइन, ती प्रविधिका लागि आवश्यक दुर्लभ पृथ्वी खनिजहरू (Rare Earth Minerals) को आपूर्ति श्रृंखलामा पनि लगभग एकाधिकार राखिरहेको छ ।

यी दुर्लभ पृथ्वी खनिजहरू चिप निर्माण र कृत्रिम बुद्धिमत्ता (AI) का लागि पनि महत्त्वपूर्ण भएकाले चीनको नियन्त्रणले उसलाई विश्व शक्ति बनाएको छ। यही कारण ट्रम्प प्रशासनले चीनमाथि दुर्लभ खनिज निर्यात नियन्त्रण ‘विश्वलाई बन्धक बनाउने प्रयास’ भनेर आलोचना गरेको थियो।

नील थोमसका अनुसार, “चीनको आत्मनिर्भरता र प्राविधिक स्वावलम्बनको चाहना कम्युनिस्ट पार्टीको विचारधाराको आधारभूत हिस्सा हो।”

सन् २०२१–२५ : उच्च गुणस्तरको विकास र प्राविधिक आत्मनिर्भरता

हालका वर्षहरूमा चीनको पञ्चवर्षीय योजनाहरू ‘उच्च गुणस्तरको विकास (High-Quality Development)’मा केन्द्रित छन् । यो नारा राष्ट्रपति सी जिनपिङले सन् २०१७ मा अघि सारेका थिए।

यसको लक्ष्य प्रविधिको क्षेत्रमा अमेरिकी प्रभुत्वलाई चुनौती दिनु र चीनलाई अग्रणी प्रविधिशक्ति बनाउनु हो ।

टिकटक, हुवावे र एआई मोडेल डीपसीक (DeepSeek) जस्ता उदाहरणहरूले चीनको प्राविधिक क्षमता विश्वसामु देखाएका छन्। तर यिनै कम्पनीहरूलाई पश्चिमी मुलुकहरूले राष्ट्रिय सुरक्षाका लागि खतरा मानेका छन्।

चिनियाँ प्रविधिमाथिका प्रतिबन्धहरूले विश्वभरका इन्टरनेट प्रयोगकर्तालाई प्रभावित पारेका छन् र कूटनीतिक विवादहरू जन्माएका छन्।

हालसम्म चीनले धेरै प्रविधि अमेरिकी आविष्कारमा निर्भर गर्दै आएको थियो जस्तै एनभिडिया (NVIDIA) का सेमीकन्डक्टरहरू। तर जब अमेरिकाले यिनको निर्यातमा रोक लगायो, सी जिनपिङले नयाँ नारा अघि सारे “नयाँ गुणस्तरको उत्पादन शक्ति (New Quality Productive Forces)”, जसको उद्देश्य राष्ट्रिय गौरव र सुरक्षालाई प्रविधिसँग जोड्नु हो।

यसको सार भनेको हो चीनले अब चिप निर्माण, कम्प्युटिङ र एआई क्षेत्रमा पूर्ण आत्मनिर्भर बन्नेछ, ताकि उसलाई कुनै पनि बाह्य प्रतिबन्धले असर गर्न नसकोस्।

नील थोमसका शब्दमा, “राष्ट्रिय सुरक्षा र प्राविधिक स्वतन्त्रता अब चीनको आर्थिक नीतिको मूल लक्ष्य बनिसकेका छन्। यो त्यही राष्ट्रवादी सोचसँग जोडिएको छ, जसले चीनमा कम्युनिज्मलाई जन्म दियो ताकि देश फेरि कहिल्यै विदेशी शक्तिको अधीनमा नहोस्।”

 

निक मार्श/बीबीसी



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट