पुलबाट हाम फाल्दा महेन्द्रको मृत्यु, सामाजिक सञ्जालमा माफी मागेर गरे आत्महत्या
रूकुम पश्चिममा झोलुंगे पुलबाट हाम फाल्दा एक किशोरको मृत्यु भएको छ।
त्रिवेणी गाउँपालिका–१० टोड्के घर भई मुसिकोट नगरपालिका–१ बस्दै आएका १७ वर्षीय महेन्द्र वलीको मृत्यु भएको हो।
शनिबार दिउँसो करिब ३ बजे उनले मुसिकोट–१ बराहटाकुरास्थित झोलुंगे पुलबाट हाम फालेका थिए। पुलबाट करिब २ मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए।
महेन्द्र कक्षा १२ मा अध्ययनरत विद्यार्थी थिए। प्रहरीका अनुसार हाम फाल्नुअघि उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै घरपरिवारसँग माफी मागेका थिए।
किशोरले पुलबाट हाम फालेको सूचना पाएलगत्तै प्रहरी निरीक्षक पुनको नेतृत्वमा १० जनाको टोली घटनास्थल पुगेको थियो।
महेन्द्रको शव शनिबार नै प्रहरीले अस्पताल पुर्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस