लालबन्दीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सर्लाहीको लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लु.प्र.०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र.२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन्।
दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी–१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए। घाइते महतोलाई प्रहरीले तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको थियो।
उपचारकै क्रममा शनिबार राति करिब ९ बजे उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले बताए।
दुर्घटनामा संलग्न बस र बस चालक दाङ जिल्लाको तुलसीपुर नगरपालिका–९ निवासी ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लालबन्दीमा राखी थप अनुसन्धान सुरु गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस