Techie IT
२०८२ कार्तिक २०, बिहीबार

न्युयोर्कका नयाँ मेयर जोहरन ममदानीको पहिलो रिजाई नेपाली म:म


विश्वको आर्थिक राजधानी मानिने अमेरिकाको न्युयोर्क सहरका नव–निर्वाचित मेयर जोहरन ममदानी नेपाली रेस्टुरेन्टमा पुगेर म:म खाँदै चर्चामा आएका छन्।

मेयरमा निर्वाचित भएपछि बुधबार उनी ज्याक्सन हाइट्सस्थित ‘लालिगुराँस बिस्ट्रो’ नामक नेपाली रेस्टुरेन्टमा लञ्चका लागि पुगेका हुन्। ३४ वर्षीय ममदानीले रेस्टुरेन्टमा खाजा खाँदै गरेको तस्बिर आफ्नो एक्स (ट्विटर) अकाउन्टमार्फत साझा गरेका छन्।

तस्बिरमा ममदानीको अगाडि म:मसहितका नेपाली परिकार देखिएका छन्। उनले लेखेका छन्, “मेयरमा निर्वाचित भएको पहिलो दिन बिहान अन्तर्वार्ता, बैठक र तयारीमा बित्यो। तर, मेरी सांसद साथी एओसी (एलेक्जान्द्रिया ओकासियो–कोर्टेज) सँगको लञ्च निकै विशेष रह्यो।”

ममदानीको मेयर चयन ऐतिहासिक बनेको छ। उनी न्युयोर्कको इतिहासमा पहिलो मुस्लिम र दक्षिण एशियाली मूलका व्यक्ति हुन्, जसले मेयरको पद सम्हाल्नेछन्। उनी अफ्रिकामा जन्मिएका पहिलो न्युयोर्क मेयर पनि बनेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई पराजित गर्न भरपूर प्रयास गरे पनि ममदानीले पूर्व गभर्नर एन्ड्रयू कुमो र रिपब्लिकन उम्मेदवार कर्टिस स्लिवालाई पराजित गर्दै ऐतिहासिक जित हात पारेका हुन्।

जनवरी १ मा पदभार ग्रहण गर्ने ममदानी एक शताब्दीभन्दा बढी अवधिमा न्युयोर्कका सबैभन्दा कान्छा मेयर हुनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट