Techie IT
२०८३ असोज २१, बुधबार

विश्व आर्थिक स्वतन्त्रता सूचकांकमा नेपालको स्थान खस्कियो


विश्व आर्थिक स्वतन्त्रता सूचकांकमा नेपालको अवस्था एक स्थानले खस्किएको छ। क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउन्डेसनले सार्वजनिक गरेको ‘विश्व आर्थिक स्वतन्त्रता, २०२६ वार्षिक प्रतिवेदन’ अनुसार नेपाल १ सय ६५ देशमध्ये ९०औँ स्थानमा झरेको हो। गत वर्ष नेपाल ८९औँ स्थानमा रहेको थियो।

यद्यपि, विश्वव्यापी तुलनामा वरीयता एक स्थान तल झरे पनि नेपालको आर्थिक स्वतन्त्रताको समग्र अंक भने सामान्य सुधार हुँदै ६.५८ बाट ६.५९ पुगेको प्रतिवेदनमा उल्लेख छ। समृद्धि फाउन्डेसनले नेपालमा लगातार १९औँ पटक यो वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो।

समृद्धिसँग जोडिएको आर्थिक स्वतन्त्रता
प्रतिवेदनले उच्च आर्थिक स्वतन्त्रता भएका देशका नागरिकले तुलनात्मक रूपमा बढी समृद्धि, राजनीतिक तथा नागरिक स्वतन्त्रता र लामो आयु प्राप्त गर्ने देखाएको छ। प्रतिवेदनअनुसार सन् २०२४ मा आर्थिक स्वतन्त्रताको उच्च पोजिसन (शीर्ष २५ प्रतिशत) मा रहेका देशमा प्रतिव्यक्ति औसत आय ६५ हजार ५९६ अमेरिकी डलर रहेको थियो भने तल्लो २५ प्रतिशतमा रहेका देशमा यस्तो आय ९ हजार ५५२ अमेरिकी डलर मात्र रहेको छ। त्यस्तै, उच्च स्वतन्त्रता भएका देशमा औसत आयु ८०.७ वर्ष हुँदा तल्लो तहका देशमा ६७.१ वर्ष मात्र रहेको छ।

फ्रेजर इन्स्टिच्युटका आर्थिक स्वतन्त्रतासम्बन्धी अनुसन्धान अध्यक्ष फ्रेड म्याकमहोनले मानिसहरू आफ्ना अवसर खोज्न र आफ्ना निर्णय आफैँ गर्न स्वतन्त्र हुने समाजमा बढी समृद्ध, सुखी र स्वस्थ जीवन बिताउने बताएका छन्।

प्रतिवेदन अनुसार सन् २०१९ मा नेपालले ६.५२ अंकसहित ९८औँ स्थान हासिल गरेको थियो। कोभिड–१९ महामारीका क्रममा नेपालको आर्थिक स्वतन्त्रता कमजोर बन्दै सन् २०२० मा ६.३१ मा झरेर १००औँ स्थानमा पुगेको थियो। हाल ६.५९ अंक प्राप्त गरेसँगै नेपालको अंक महामारीअघिको अवस्थाभन्दा माथि पुगेको छ, तर विश्वका अन्य देशको तीव्र प्रतिस्पर्धात्मक सुधारका कारण वरीयतामा भने नेपाल एक स्थान तल झरेको हो।

प्रमुख ५ क्षेत्रमा नेपालको कस्तो छ स्थिति?
प्रतिवेदनमा समेटिएका पाँच प्रमुख क्षेत्रअन्तर्गतका २४ उप–सूचकमा नेपालका ७ वटा सूचकमा सुधार आएको छ भने ६ वटामा स्थिति कमजोर भएको छ र ११ वटा उप–सूचकमा अघिल्लो वर्षकै अवस्थामा कायम रहेका छन्:

१. सरकारको आकार: ७.२९ अंकबाट घटेर ७.२५ मा झरेको छ भने ४९औँ स्थानबाट ५१औँ स्थानमा पुगेको छ।
२. कानूनी व्यवस्था तथा सम्पत्तिमाथिको अधिकारको सुरक्षा: ४.९२ अंकबाट घटेर ४.८२ मा झर्दा ९१औँ स्थानबाट ९६औँ स्थानमा पुगेको छ।
३. स्वस्थ मुद्रामा पहुँच: ७.३७ अंकबाट बढेर ७.५७ मा पुगे पनि अन्य देशको प्रगतिका कारण वरियता ९६औँबाट १०१औँ स्थानमा झरेको छ।
४. अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता: ६.२१ अंकबाट बढेर ६.३९ मा पुगेको छ र १२६औँ स्थानबाट उक्लिँदै ११७औँ स्थानमा पुगेको छ।
५. नियमन: ७.१२ अंकबाट घटेर ६.९० मा झरेको छ भने ३७औँ स्थानबाट ५०औँ स्थानमा पुगेको छ।

विश्वभरको अवस्था कस्तो?
विश्व आर्थिक स्वतन्त्रताको वरीयतामा हङकङ पहिलो स्थानमा कायम रहेको छ। त्यसपछि क्रमशः स्वीट्जरल्यान्ड, सिङ्गापुर, न्युजिल्यान्ड, संयुक्त राज्य अमेरिका, आयरल्यान्ड, डेनमार्क, अस्ट्रेलिया र मौरिसस रहेका छन्। छिमेकी राष्ट्र भारत ८८औँ र चीन ११०औँ स्थानमा रहेका छन् भने सबैभन्दा कमजोर आर्थिक स्वतन्त्रता भएको देशको रूपमा भेनेजुएला अन्तिम अर्थात् १६५औँ स्थानमा रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट