Techie IT
२०८३ असोज २१, बुधबार

मौसमको पूर्वसूचनाले बचायो कञ्चनपुरका किसानको अन्न, ११५५ नम्बर बन्यो वरदान


केही वर्षअघिसम्म धान काट्ने बेला आकाशतिर हेरेर चित्त बुझाउनुपर्ने कृष्णपुर नगरपालिका–२, सरस्वती टोलका निलम कार्की अहिले मौसम पूर्वानुमानको भरपर्दो सूचनाले ढुक्क छिन्।

कहिले पानी पर्छ, कति वर्षा हुन्छ र मौसमको अवस्था कस्तो छ भन्ने सम्पूर्ण जानकारी अहिले उनको मोबाइलमै आइपुग्छ। मौसमबारे जानकारी लिन मोबाइल म्यासेजका साथै सिधै फोन गर्ने सुविधा छ। “पहिला धान काट्न आकाशको बादल हेरेर निर्णय गर्नुपर्थ्यो, अहिले मौसमको पूर्वसूचनाले जीवन सहज बनाएको छ,” कार्की भन्छिन्, “११५५ मा फोन गरेर जानकारी लिएपछि मात्रै धान काट्ने सही समय तय हुन्छ।”

पाँच कट्ठा जग्गामा धानखेती गर्दै आएका कार्की जस्तै कृष्णपुरकै निर्मला बडूलाई पनि खेतको काम गर्न अहिले कुनै अलमल छैन। “११५५ मा मौसमबारे जानकारी लिएर मात्रै काम थाल्छौँ,” चार कट्ठामा धानखेती गरेकी बडू भन्छिन्, “विभागले दिएको पूर्वजानकारीले हामीलाई ठूलो राहत दिएको छ।” जल तथा मौसम विज्ञान विभागले बुधबार कञ्चनपुरमा वर्षाको सम्भावना रहेको जानकारी गराएपछि यहाँका किसानहरू थप सचेत बनेका छन्।

खेती भित्र्याउन मात्र होइन, नदीमा बाढी आउँदा बज्ने साइरन र मोबाइलमा आउने चेतावनीयुक्त सन्देशले जनधनको सुरक्षामा समेत सघाउ पुगेको किसानहरूको भनाइ छ।

मौसमको पूर्वसूचना अन्नबाली जोगाउने बलियो माध्यम बनेको बेदकोट नगरपालिका–७ का किसान विसन पन्त बताउँछन्। “पूर्वसूचनाले एकातर्फ किसानको अन्नबाली सुरक्षित भएको छ भने अर्कातर्फ बाढीबाट हुने क्षति न्यून भएको छ,” पन्तले भने, “केही वर्षअघिसम्म काटेको धान खेतमै डुब्थ्यो, अहिले त्यो पीडा भोग्नुपरेको छैन।”

विभागको सूचना भरपर्दो बन्दै गएपछि यो प्रविधि किसानका लागि साँच्चै ‘वरदान’ साबित भएको छ। तर, पछिल्लो समय सामाजिक सञ्जालमा जथाभाबी फैलने भ्रामक मौसमसम्बन्धी सूचनाले भने कतिपय बेला विश्वास गर्न गाह्रो हुने उनको गुनासो छ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस जिल्लाको कुल १ लाख ६१ हजार ६२४ हेक्टर क्षेत्रफलमध्ये ५६ हजार ३६३ हेक्टर खेतीयोग्य जमिन रहेको छ। जसमध्ये ४८ हजार ४९६ हेक्टरमा धान र ३१ हजार २१० हेक्टरमा गहुँखेती हुने गरेको छ। मौसमको सही सूचना प्रणालीले यो विशाल कृषिक्षेत्रको उत्पादनलाई सुरक्षित बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट