Techie IT
२०८२ कार्तिक ३०, आइतबार

बिहारमा यसकारण ६ सिटमा खुम्चियो

बिहारको राजनीति जातीय समीकरणमा आधारित हुँदा कांग्रेसको वैचारिक राजनीतिले त्यति प्रभाव जमाउन सकेन


बिहार विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै २४३ मध्ये २०२ सिट जितेर राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले ऐतिहासिक बहुमत हासिल गरेको छ। तर राष्ट्रिय जनता दल (आरजेडी), कांग्रेस र अन्य दलहरू सम्मिलित महागठबन्धनले भने ठूलाे र अप्रत्याशित हार बेहोर्नुपर्‍यो।

यसपालिको चुनावमा महागठबन्धनभित्र कांग्रेसको प्रदर्शन झन् कमजोर रह्यो। पार्टीले उम्मेदवार उठाएका ६० सिटमध्ये केवल ६ सिटमा मात्रै जित निकाल्न सक्यो। यसपटक कांग्रेसको भोट शेयर ८.७१ प्रतिशतमा झर्दै २०२० को ९.६ प्रतिशतभन्दा घटेको छ। गत चुनावमा कांग्रेसले १९ सिट जितेको थियो।

विगत दशकहरूदेखि नै बिहार कांग्रेसका लागि चुनौतीपूर्ण क्षेत्र बन्दै आएको छ। २०१५ मा २७ सिट जितेको कांग्रेस २०१० मा मात्र ४ सिटमा सीमित भएको थियो। यसपटक ६ सिटको नतिजाले पार्टीको कमजोर अवस्था झन् खुल्यो औसतमा १० मध्ये १ उम्मेदवार मात्रै विजयी भए।

कांग्रेसको कमजोर परिणामका मुख्य कारणहरू

विश्लेषकहरूका अनुसार कांग्रेसको खराब प्रदर्शन अपेक्षित नभए पनि यसको संकेत चुनावी अभियानकै दौरान देखिन थालेको थियो। सन् १९९० पछि बिहारमा कांग्रेसका कुनै मुख्यमन्त्री नहुँदा पार्टी लामो समयदेखि प्रभावहीन बन्दै गएको छ।

चुनावपछि कांग्रेसका थुप्रै नेताहरूले नतिजाको लागि निर्वाचन आयोगलाई दोष दिएका छन्। कांग्रेस प्रवक्ता पवन खेड़ाले ‘यो चुनाव बिहारका जनताविरुद्ध निर्वाचन आयोगको हो’ भनेका छन्। दिग्विजय सिंहले ‘यो सम्पूर्ण खेल नक्कली मतदाता सूची र नक्कली ईभीएम’ को दाबी गरेका छन् । भूपेन्द्र हुड्डाले भने यो हार अप्रत्याशित भएको र पार्टीले गम्भीर समीक्षा गर्नु पर्ने बताए। तर विश्लेषकहरूका अनुसार कांग्रेसको पराजयका पाँच प्रमुख कारण यसप्रकार छन् -

१. कमजोर सामाजिक आधार

बिहारमा कांग्रेसको ठोस सामाजिक आधार नभएको विश्लेषकहरूको मूल्यांकन छ। वरिष्ठ पत्रकार सुरुर अहमदका अनुसार, ‘माथिल्लो जात पहिले नै कांग्रेसबाट टाढिएको छ, र पिछडिएका जातिहरू पनि पार्टीतर्फ आकर्षित छैनन्।’ बिहारको राजनीति जातीय समीकरणमा आधारित हुँदा कांग्रेसको वैचारिक राजनीतिले त्यति प्रभाव जमाउन सकेन।

२. वैचारिक चुनौती

भाजपाको बलियो हिन्दुत्व एजेन्डाले पछिल्ला चुनावहरूमा ठूलो प्रभाव पारेको छ। सुरुर अहमद भन्छन्, ‘कांग्रेसको विचारधारासँग जनताले जोडिन सकेका छैनन्। यो समस्या बिहारभन्दा ठूलो राष्ट्रिय स्तरकै चुनौती हो।’ सामाजिक सञ्जाल र भावनात्मक राजनीतिमा सक्षम हुन कांग्रेस चुकेको विश्लेषकहरूको भनाइ छ।

३. कथा निर्माणमा असफलता

कांग्रेसले बेरोजगारी, सामाजिक न्याय, आरक्षण, निःशुल्क विद्युत् जस्ता मुद्दा उठाए पनि यसको प्रचार अभियान ‘मत चोरी’ र मतदाता सूची संशोधन जस्ता विषयमा केन्द्रित रह्यो। पत्रकार नचिकेता नारायण भन्छन्, ‘मत चोरीलाई मुख्य मुद्दा बनाउँदा मतदाताले त्यो कथा ग्रहण गरेनन्।’ एनडीएले भने लालु यादवको ‘जंगलराज’ को कथालाई प्रभावकारी रूपमा प्रयोग गर्दै मतदाता तान्यो।

४. गठबन्धनसँग समन्वयको अभाव

महागठबन्धनभित्र, विशेषतः कांग्रेस र आरजेडीबीच पर्याप्त समन्वय नहुँदा धेरै सिटमा मैत्रीपूर्ण प्रतिस्पर्धा (फ्रेन्डली फायर) देखियो, जुन गठबन्धनका लागि प्रतिकूल रह्यो। नेताअजय कुमार भन्छन्, ‘कांग्रेसले न संगठन निर्माणमा ध्यान दियो, न गठबन्धनसँग तालमेलमा।’

५. कमजोर संगठन र उम्मेदवार छनोट

बिहारमा कांग्रेससँग समर्पित र बलियो कार्यकर्ता संरचना अभावमा छ। सुरुर अहमद भन्छन्, ‘कांग्रेससँग बिहारमा आरजेडीजस्तो जुझारु कार्यकर्ता संरचना छैन।’

पत्रकार नचिकेता नारायणका अनुसार उम्मेदवार छनोटमा पनि गम्भीर त्रुटि देखियो, जसका कारण धेरै क्षेत्रहरूमा कमजोर उम्मेदवार मैदानमा उत्रिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट