जापानको अर्थतन्त्र खुम्चियो
जीडीपीमा आधाभन्दा बढी हिस्सा ओगट्ने निजी उपभोग तेस्रो त्रैमासिकमा ०.३ प्रतिशतले घटेको छ
इरान युद्धका कारण चुलिएको मुद्रास्फीति, प्रतिकूल मौसम र शक्तिशाली भूकम्पको असरले जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिक (जुलाई–सेप्टेम्बर) मा सङ्कुचित भएको छ । जापानको मन्त्रिपरिषद् कार्यालयले सोमबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार वार्षिक वास्तविक आधारमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.१ प्रतिशतले घटेको हो ।
विगत चार त्रैमासिकयता जापानको अर्थतन्त्रमा देखिएको यो पहिलो गिरावट हो । अघिल्लो त्रैमासिकको तुलनामा मुद्रास्फीति समायोजित जीडीपी ०.०२ प्रतिशतले घटेको क्योडो न्युजले जनाएको छ । मन्त्रिपरिषद् कार्यालयले १३ निजी वित्तीय संस्थाहरूसँग गरेको सर्वेक्षणमा वार्षिक ०.२ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको भए पनि नतिजा अपेक्षाभन्दा कमजोर देखिएको हो ।
निजी उपभोगमा लगातार गिरावट
जापानको जीडीपीमा आधाभन्दा बढी हिस्सा ओगट्ने निजी उपभोग तेस्रो त्रैमासिकमा ०.३ प्रतिशतले घटेको छ । तेलको मूल्यवृद्धि र कमजोर येनका कारण आयात महँगिँदा उपभोक्ता खर्चमा लगातार दोस्रो त्रैमासिकमा गिरावट आएको हो । यसअघि अप्रिल–जुन अवधिमा पनि निजी उपभोग समान दरले घटेको थियो ।
उपभोक्ता खर्च घट्नुमा प्राकृतिक विपद् र मौसमको पनि मुख्य भूमिका रहेको छ । जुलाईको अन्त्यमा कुमामोतो प्रान्तमा गएको ७.१ म्याग्निच्युडको भूकम्प र अगस्टको मध्यतिर चिबा प्रान्तलगायतका क्षेत्रमा भएको भारी वर्षा तथा आँधीले मानिसहरूलाई किनमेलमा निस्कन निरुत्साहित गरेको थियो । भूकम्पका कारण क्युसु क्षेत्रका कारखाना बन्द हुँदा औद्योगिक उत्पादन र निर्यातमा समेत धक्का पुगेको छ ।
यसबाहेक, अघिल्लो त्रैमासिकमा उच्च रहेको सवारीसाधन र एयर कन्डिसनरको बिक्रीमा पनि सुस्तता आएको छ । वातावरणीय कार्यसम्पादन कर खारेज हुँदा बढेको कारको बिक्री र सन् २०२७ अप्रिलदेखि लागू हुने कडा ऊर्जा मापदण्डअघि नै उपभोक्ताले अग्रिम रूपमा एयर कन्डिसनर किनिसकेकाले तेस्रो त्रैमासिकमा माग घटेको हो ।
लगानी बढे पनि निर्यात र आवास क्षेत्र कमजोर
तथ्याङ्कअनुसार समिक्षा अवधिमा व्यावसायिक लगानी भने १.६ प्रतिशतले बढेको छ । श्रम बचत गर्ने उपकरण, डिजिटलाइजेसन र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी प्रविधिमा भएको उच्च मागले व्यावसायिक लगानीलाई टेवा दिएको हो । यद्यपि, निर्यात ०.२ प्रतिशतले घट्दा आयात २.५ प्रतिशतले बढेको छ । त्यस्तै, आवास लगानी १.१ प्रतिशत र सरकारी उपभोग ०.०३ प्रतिशतले खुम्चिएको छ ।
दाइवा इन्स्टिच्युट अफ रिसर्चका अर्थशास्त्री हिरोहितो हातानाकाले निजी उपभोगमा आएको अपेक्षाभन्दा तीव्र गिरावटले समग्र अर्थतन्त्रलाई थिचेको बताउनुभएको छ । ऊर्जा अनुदान कटौती भइरहेकाले अक्टोबर–डिसेम्बर त्रैमासिकमा पनि उपभोग बढाउने ठोस आधार नदेखिएको उहाँको विश्लेषण छ । उता, क्यापिटल इकोनोमिक्सका मार्सेल थिएलियन्टले पछिल्लो आर्थिक तथ्याङ्क निराशाजनक रहेको टिप्पणी गर्नुभएको छ ।
बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न जापानको केन्द्रीय बैंक (बैंक अफ जापान) ले आगामी डिसेम्बर १७–१८ मा बस्ने नीतिगत बैठकबाट ब्याजदर थप बढाउन सक्ने विश्लेषकहरूको अनुमान छ । यद्यपि, कमजोर निजी उपभोगका कारण नीतिगत बोर्डका सदस्यहरू तोइचिरो असादा र आयानो सातोले ब्याजदर वृद्धिको विपक्षमा मत राख्न सक्ने आकलन गरिएको छ ।
यसैबीच, अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले सन् २०२७ सम्ममा जापान विश्वका ठूला अर्थतन्त्रहरूको सूचीमा छैटौँ स्थानमा झर्ने प्रक्षेपण गरेको छ । कोषका अनुसार आर्थिक विस्तारको गतिसँगै भारत र जर्मनीले जापानलाई उछिन्नेछन् ।



तपाईको प्रतिक्रिया दिनुहोस