फोर्ब्सको अर्बपतिको सूचीमा अमेरिकी पप स्टार बियोन्से
विश्वचर्चित अमेरिकी पप स्टार बियोन्से आधिकारिक रूपमा अर्बपतिको सूचीमा सामेल भएकी छन्। प्रतिष्ठित आर्थिक पत्रिका फोर्ब्सले उनलाई विश्वकै धनी संगीतकर्मीको सूचीमा समावेश गर्दै अर्बपति घोषणा गरेको हो।
यो उपलब्धिसँगै बियोन्से टेलर स्विफ्ट, रिहाना, ब्रुस स्प्रिंगस्टीन तथा आफ्नै पति जे–जी जस्ता १० अंकको सम्पत्ति भएका विश्वप्रसिद्ध हस्तीहरूको पंक्तिमा पुगेकी छन्। यसअघि फोर्ब्सले उनको कुल सम्पत्ति करिब ८० करोड अमेरिकी डलर अनुमान गरेको थियो। तर पछिल्लो समय सम्पन्न भएको ‘रेनेसाँ वर्ल्ड टुर’ र सन् २०२४ मा सार्वजनिक चर्चित एल्बम ‘काउब्वाई कार्टर’ को अभूतपूर्व सफलताले उनलाई अर्बपतिको उचाइमा पुर्याएको हो।
फोर्ब्सका अनुसार बियोन्सेले सन् २०२३ को सांगीतिक भ्रमणबाट मात्रै करिब ६० करोड डलर आम्दानी गरेकी थिइन्। साथै, आफ्नै कन्सर्ट फिल्म एएमसी थिएटरसँग प्रत्यक्ष सम्झौता गरी वितरण गरेपछि त्यसबाट पनि उनले उल्लेखनीय आम्दानी हासिल गरिन्।
उनको पछिल्लो एल्बम ‘काउब्वाई कार्टर’ ले व्यवसायिक सफलतासँगै समीक्षकहरूको प्रशंसा पनि बटुल्यो। यही एल्बमका कारण उनले पहिलो पटक ग्रामी अवार्डमा ‘एल्बम अफ द इयर’ को सम्मान समेत प्राप्त गरिन्। फोर्ब्सका अनुसार उक्त एल्बमको टुरबाट टिकट बिक्रीमार्फत करिब ४० करोड डलर र व्यापारिक सामग्री (मर्चेन्डाइज) बिक्रीबाट थप ५ करोड डलर आम्दानी भएको छ। लन्डन र पेरिसका ठूला रंगशालामा आयोजित टुरले कीर्तिमानी व्यापार गरेको बताइएको छ।
यसका अतिरिक्त नेटफ्लिक्सद्वारा प्रसारित क्रिसमस डे एनएफएल खेलको हाफटाइम शो तथा ‘लिभाइस’ लगायत विश्वप्रसिद्ध ब्रान्डहरूसँग भएका व्यावसायिक सम्झौताले पनि बियोन्सेको सम्पत्ति वृद्धिमा महत्वपूर्ण योगदान दिएको फोर्ब्सले उल्लेख गरेको छ।
यसैबीच, अर्को प्रतिष्ठित आर्थिक संस्था ब्लुमबर्ग ले सेलेना गोमेजलाई पनि अर्बपतिको सूचीमा समावेश गरेको दाबी गरे पनि फोर्ब्सले भने उनको कुल सम्पत्ति अर्ब डलर नपुगेको भन्दै उक्त दाबीलाई अस्वीकार गर्दै आएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस