फेरि तात्यो एपस्टीन काण्ड, पीडित महिलाले भनिन्ः राजकुमारसँग सम्बन्धका लागि बेलायत पठाइयो
कुख्यात अमेरिकी फाइनान्सर जेफ्री एपस्टीनसँग जोडिएका यौन शोषणका घटनाहरू पुनः अन्तर्राष्ट्रिय चर्चामा आएका छन् । बीबीसी हिन्दीको रिपोर्टअनुसार, एपस्टीन प्रकरणकी अर्की एक पिडित महिलाले आफूलाई ‘पूर्व बेलायती राजकुमारसँग यौनसम्बन्ध राख्नका लागि बेलायत पठाइएको’ दाबी गरेकी छन् ।
ती महिलाले अमेरिकी अदालतमा दायर गरिएका कागजात र सार्वजनिक बयानमार्फत एपस्टीनको सञ्जाल केवल अमेरिकासम्म सीमित नभई अन्तर्राष्ट्रिय तहसम्म फैलिएको आरोप लगाएकी छन् । उनका अनुसार एपस्टीन र उनकी सहयोगी गिस्लेन म्याक्सवेलले शक्तिशाली तथा धनी व्यक्तिहरूसँग सम्बन्ध कायम गराउन युवतीहरूलाई विभिन्न देशमा पठाउने गर्थे ।
पीडित महिलाको भनाइअनुसार उनलाई कम उमेरमै छलकपट र दबाबमार्फत बेलायत पठाइएको थियो, जहाँ एक पूर्व राजकुमार एन्ड्र्यु माउन्टब्याटनसँग यौनसम्बन्ध राख्न बाध्य पारियो । उनले यो सहमतिमा नभई शोषण र नियन्त्रणको परिणाम भएको बताएकी छन् ।
यसअघि पनि बेलायती शाही परिवारसँग जोडिएका आरोपहरूले ठूलो राजनीतिक र सामाजिक तरंग ल्याएका थिए । ती आरोपपछि सम्बन्धित राजकुमार सार्वजनिक जिम्मेवारीबाट पछि हट्न बाध्य भएका थिए, यद्यपि उनले यौन दुर्व्यवहारसम्बन्धी सबै आरोप अस्वीकार गर्दै आएका छन् ।
नयाँ दाबीले एपस्टीन प्रकरणमा अझ धेरै पीडितहरू अगाडि आउन सक्ने संकेत गरेको छ । मानवअधिकारकर्मी र पीडित अधिकारका पक्षधरहरूले यस्ता बयानहरूले ‘शक्तिको दुरुपयोग र यौन शोषणविरुद्धको लडाइँमा पीडितको आवाज कति महत्वपूर्ण हुन्छ’ भन्ने कुरा पुनः पुष्टि गरेको बताएका छन् ।
जेफ्री एपस्टीन सन् २०१९ मा अमेरिकी जेलमा मृत भेटिएका थिए । आधिकारिक रूपमा उनको मृत्यु आत्महत्या भनिए पनि यस विषयमा अझै विभिन्न प्रश्न र आशंका उठिरहेका छन् । उनकी निकट सहयोगी गिस्लेन म्याक्सवेल भने यौन शोषणसम्बन्धी अभियोगमा दोषी ठहर भइसकेकी छन् ।
के हो जेफ्री एपस्टीन काण्ड ?
जेफ्री एपस्टीन काण्ड आधुनिक विश्वकै सबैभन्दा चर्चित र गम्भीर यौन शोषण तथा शक्ति दुरुपयोगसँग जोडिएको अन्तर्राष्ट्रिय प्रकरण मानिन्छ । यसमा धनी अमेरिकी फाइनान्सर एपस्टीनमाथि नाबालिकासहित दर्जनौँ युवतीलाई यौन शोषण गर्ने, शक्तिशाली व्यक्तिहरूसँग यौन सम्बन्धका लागि ‘सप्लाइ’ गर्ने र त्यसका लागि अन्तर्राष्ट्रिय सञ्जाल सञ्चालन गरेको आरोप लागेको थियो ।
न्यूयोर्क र फ्लोरिडामा विशाल सम्पत्ति, निजी जेट तथा क्यारिबियन क्षेत्रमा निजी टापुको स्वामित्वका कारण उनी चर्चामा थिए । राजनीतिज्ञ, उद्योगपति, शाही परिवारका सदस्य र अन्य प्रभावशाली व्यक्तिसँगको निकट सम्बन्धकै आडमा उनले वर्षौँसम्म यौन शोषणको सञ्जाल चलाएको अभियोग छ ।
सन् २००० को दशकको सुरुदेखि नै एपस्टीनमाथि नाबालिकालाई प्रलोभनमा पारेर यौन शोषण गरेको आरोप लाग्दै आएको थियो । पीडित महिलाहरूका अनुसार उनीहरूलाई पैसाको लोभ, जागिरको झुटो आश्वासन वा दबाबमार्फत एपस्टीनको घरमा बोलाइन्थ्यो र त्यहाँबाट शक्तिशाली व्यक्तिहरूसँग सम्बन्ध राख्न बाध्य पारिन्थ्यो ।
सन् २०१९ मा एपस्टीन संघीय स्तरमा नाबालिक यौन शोषण र मानव तस्करीका आरोपमा पक्राउ परे । तर मुद्दा अदालतमा पुग्नुअघि नै उनी न्यूयोर्कस्थित जेलमा मृत भेटिए । मृत्यु आत्महत्या भनिए पनि सुरक्षा व्यवस्थामा कमजोरी र उनको प्रभावशाली सम्बन्धका कारण घटनाले विश्वव्यापी शंका र षड्यन्त्रसम्बन्धी बहस जन्मायो । कतिपयले यस प्रकरणमा हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत जोडिएको दाबी गर्दै आएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस