बलिउडका चर्चित अभिनेता राजपाल यादव जमानतमा रिहा
बलिउडका चर्चित अभिनेता राजपाल यादव चेक बाउन्स मुद्दामा अन्तरिम जमानत पाएपछि दिल्लीस्थित तिहाड जेलबाट रिहा भएका छन्। उच्च अदालतको आदेशपछि मंगलबार आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनी जेलबाट बाहिरिएका हुन्।
जेलबाट निस्किएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यादवले आफूमाथि लागेका सबै आरोपको कानुनी रूपमा जवाफ दिने बताएका छन्। उनले अदालतप्रति आभार व्यक्त गर्दै कठिन समयमा साथ दिने समर्थकहरूलाई धन्यवाद दिएका छन्।
यादवले सन् २०१० मा फिल्म अता पता लापता निर्माणका लागि मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट ५ करोड भारतीय रुपैयाँ ऋण लिएका थिए। तर फिल्म व्यावसायिक रूपमा असफल भएपछि उनी आर्थिक संकटमा परेका थिए र समयमै ऋण चुक्ता गर्न सकेनन्।
ऋण लिँदा दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी दर्ता भएको थियो। यसअघि दुवै पक्षबीच सहमति भए पनि पूर्ण भुक्तानी हुन नसक्दा ब्याजसहित ऋण रकम थपिँदै गएको बताइएको छ।
यसै मुद्दामा सन् २०१८ मा दिल्लीको कडकडडुमा अदालतले उनलाई ६ महिनाको जेल सजाय सुनाएको थियो। सोही आदेशअनुसार उनले गत फेब्रुअरी ५ मा आत्मसमर्पण गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस