Techie IT
२०८३ भाद्र ३१, बुधबार

देशभर भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु


देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ। मंगलबार र बुधबार भएका यी दुर्घटनाहरूमा मोटर साइकल, ट्रक र इभी गाडी आपसमा ठोक्किएर तथा अनियन्त्रित भई ठक्कर दिँदा ठूलो मानवीय क्षति भएको हो।

काठमाडौं, तारकेश्वरमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ५५ वर्षीय पैदलयात्री मधु भट्टको ग्राण्डी अस्पताल टोखामा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ।

मोरङ, सुनवर्षीमा अनियन्त्रित मोटरसाइकल दुर्घटना हुँदा चालक भारत गोठ गाउँका ४० वर्षीय मुना मण्डलको रंगेली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

सर्लाही, गोडैता र कबिलासी: सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा ३ जनाको ज्यान गएको छ। गोडैतामा मोटरसाइकलबाट लडेर ६५ वर्षीया शान्ती देवीको मृत्यु भएको छ भने कबिलासीस्थित सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर ३० वर्षीय सुमित यादव र २६ वर्षीय पप्पु पासवानको प्रादेशिक अस्पताल मलंगवामा उपचारका क्रममा मृत्यु भएको छ।

बारा, जीतपुर सिमरा: पेट्रोल पम्प नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्साका ३५ वर्षीय रबिन्द्र उपाध्याय र बाराका ३५ वर्षीय दिलिप चौधरीको नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको छ।

मकवानपुर, इन्द्रसरोवर: काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको इभी गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरूमा नर बहादुर सिंह ठकुरी, सुरज भट्टराई, सरफरोस मिया र भुवनेश्वर साह कानु रहेका छन्।

सिन्धुपाल्चोक, मेलम्ची: ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक पाँचपोखरीका ३६ वर्षीय प्रभात अधिकारीको बिएण्डबि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

चितवन, भरतपुर: मोटरसाइकलको ठक्करबाट घाइते भएका ८ वर्षीय बालक विनोद लामाको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट